काठमाडौं । बझाङमा केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पको धक्काले डडेल्धुराका आधा दर्जन बढी घरमा क्षति पुगेको छ। जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाको एक, गन्यापधुरा गाउँपालिकाका दुई र नवदुर्गा गाउँपालिकाका चारवटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
गन्यापधुरा गाउँपालिका-३ का दुई घरमा आंशिक क्षति पुगेको खबर आएको डडेल्धुरा प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए। उनका अनुसार घरको एक तर्फको पर्खाल भत्किएको छ। नवदुर्गा गाउँपालिका-३ का दुई वटा घर, वडा नम्बर ४ का पनि दुई वटा घरमा क्षति पुगेको खबर प्राप्त भएको डीएसपी कार्कीले बताए।
जिल्ला सदरमुकाम अमरगढी नगरपालिका-७ ऐरी गाउँस्थित कोलगडामा एक घर भत्किएको छ। कोलगडामा पण्डित टिआर भट्टको घर भत्किएको छ। घर भत्किँदा अन्नपात र लुगाकपडा पुरिएको भट्टले बताए।
यस्तैअर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर २ सितापुरमा भूकम्पका कारण पाँच घर भासिएका छन्।
भूकम्पका कारण सितापुरका ५ घर चर्किनुका साथै भासिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी प्रतीत सिंह राठोरले बताए। स्थानीय दशरथ गुरुङ, विष्णु थापा मगर, बब्लु बानिया, सन्तोष घम र दुर्गा बिसीको घर चर्किएको हो।
अविरल वर्षाका कारण गलेको जमिन भूकम्पले हल्लाएपछि घरहरू चर्कनुका साथै भास्सिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्। घर भासिएपछि घरमा रहेका मानिसलाई सुरक्षित स्थानमा सारिएको इलाकाप्रहरी कार्यालय ठाडाका प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्ती मरगले बताए।