काठमाडाैं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी दलहरू मिल्नुपर्ने बताएका छन् ।
मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित 'सुवास र संविधान प्रवचन कार्यक्रम' लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले मतभेद भए पनि वामपन्थी दलहरू मिल्नुपर्ने बताएका हुन् ।
'मतभेद हुन सक्छ । तर, वामपन्थी हौँ भन्ने दलहरू मिल्नुपर्छ,' उनले भने, 'वामपन्थी दल मिले पूर्वसभामुख तथा एमाले उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।'
नेता खनालले राष्ट्रियताका सवालमा सबै दल मिल्नुपर्ने बताए । उनले संविधानबारे नेता र नेतृत्वले जनतालाई बुझाउन नसक्दा अहिले अतिवादका कुरा आइरहेको बताए ।
'संविधानले बहुजातीय, बहुसांस्कृतिक बहुलवादलाई स्वीकारेको छ । तर, नेतृत्वले बुझाउन नसक्दा अहिले अतिवादका कुरा भइरहेका छन् । नेता र नेतृत्वले जनतालाई संविधान बुझाउनुपर्ने छ,' उनले भने ।