काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि पार्टीको तदर्थ वडा समिति गठनको लागि वडा भेला गर्न नपाइने जनाएको छ । रास्वपाका संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटीले सूचना जारी गर्दै आज (२ असोज) सम्म मात्रै पार्टीको वडा भेला गर्न पाइने जनाएका हुन् ।
रास्वपाको नयाँ वडा समिति गठनको लागि आगामी कात्तिक १० गतेदेखि १६ गतेसम्म देशैभरीका वडामा चुनाव गर्दैछ । वडा समिति गठनका लागि एप मार्फत चुनाव हुने गरि रास्वपाले एप मार्फत् नै उम्मेदवारी माग गरेको छ ।
आजदेखि असोज २० गतेसम्म उम्मेदवार दर्ता गर्न सकिने रास्वपाले जनाएको छ । असोज २१ देखि कात्तिक ९ सम्म उम्मेदवार उपर दावी विरोध गर्न पाइने र त्यहि दिन अन्तिम नामावलि प्रकाशन गरिने रास्वपाले जनाएको छ ।
११ सदस्यीय वडा समितिमा दलित १ र महिला ४ जना अनिवार्य गरिएको छ । बाँकी ६ जना ४५ वर्षमुनीका युवाबाट छनोट हुने व्यवस्था छ । त्यसमध्येबाट एक एक जना वडा सभापति, उपसभापति र सचिव छनोट हुनेछन् भने बाँकी सदस्य छनोट हुनेछन् ।
आगामी कात्तिक २० गते रास्वपाले वडास्तरीय चुनावको नतिजा प्रकाशन गरिने जनाएको छ । पार्टीले देशैभरीका ६ हजार ७ सय ४३ वटै वडामा चुनाव मार्फत् नै वडा समिति गठन गर्न लागेको हो ।
.jpg)