काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को ३१औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । फ्यानको ३१औं वार्षिक साधरण सभा धुलिखेलमा सम्पन्न भएको हो । सधारणा सभा बोल्दै फ्यानका अध्यक्ष मिनबहादुर तामाङले बजेट तथा मौद्रिक नीति अस्पष्ट हुँदा फ्लोरिकल्चर क्षेत्र फष्टाउन नसकेको बताए । उनले भने, ‘मुलुकमा पुष्प बजार आत्मनिर्भरउन्मुख हुुँदै गए राज्यको विभिन्न निकाय तथा नीतिको कारण फूल आयात भइरहेको छ ।’
उनले प्लाष्टिक जन्य फूलहरु रोक्नुपर्नेमा जोड दिए । उनले भने, ‘अघिल्लो बर्ष रोकिए पनि फेरि आयात भइरहेको छ ।’
अध्यक्ष तामाङले अहिलेको समस्या भनेको बिउ बिजनको ऐन पनि रहेको बताए । नेपालमा सुचिकृत नभएको बिउहरु ल्याउन नपाउने भएपछि नर्सरी क्षेत्रलाई निकै समस्या परेको उनको भनाइ थियो ।फ्लोरिकल्चर क्षेत्रलाई छुटै सुचिकृत गरेर आयात गर्न पाउनुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘फ्लोरिकल्चर क्षेत्रमा समस्या आउँदा ४५ हजारभन्दा बढि व्यक्तिहरुको रोजगारी संकटमा पर्नेछ ।’
त्यस्तै, उनले पुष्प व्यवसायीका लागि क्वारेन्टाइन, भन्सार नाकाहरु सहज नभएको उनले बताए ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष मोहन कटवालले पुष्प व्यवसाय क्षेत्रमा बिउविजन, मल, प्रविधि सिंचाइ लगायत विभिन्न समस्या रहेको बताए । बजेट तथा मौद्रिक नीति मार्फत सरकारले विभिन्न योजना ल्याए पनि लक्षित बर्गको पहुँचमा पुग्न नसकेको कटवालले बताए ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका उपसचिव प्रद्युम्न राज पाण्डेले नेपालमा फ्लोरिकल्चरको भविष्य र सम्भावना निकै रहेको बताए । नेपालमा नीजि क्षेत्रले गरेको प्रयासलाई बधाई दिएका छन् । लगानी अनुसार उपलब्धि हासिल गरेको राज्यले गर्व गर्न लायक विषय भएको बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले पुष्प व्यवसायको क्षेत्र ठूलो क्षेत्र भएको बताएका छन् । मुलुकमा जन्म, मृत्यूदेखि मानिसका विभिन्न रितिरिवाज चाडपर्वमा फूलको प्रयोग हुने भएकोले यसको ठूलो व्यापार क्षेत्र रहेको उनले बताए । बिउ विजन आयात गर्दा थोरै क्षेत्रलाई मात्रै सूचिकृत गरेको कारण समस्या देखिएको छ, मैले सक्दो पहलकदमी गर्ने उनले प्रतिवद्धता जनाए ।