काठमाडौं । जिल्ला समन्वय समिति काठमाडौँले नव नियुक्त जिल्ला समन्वय अधिकारी शिवप्रसाद रिजाललाई भव्य स्वागत गरेको छ । जिससले बुधबार जिल्ला समन्वय समितिको हलहमा एक कार्यक्रम आयोजना गरी नव नियुक्त रिजालको स्वागत गरेको हो ।
जिसस काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले रिजाललाई फूल, माला र खाँदा ओढाएर स्वागत गरे । कार्यक्रममा प्रमुख बुढाथोकीले रिजाललाई स्वागत गर्दै नयाँ जिल्ला समन्वय अधिकारीबाट जिससको काम थप प्रभावकारी रुपमा अगाढि बढ्ने विश्वास व्यक्त गरे ।

रिजालले यसअघि बारा जिससमा जिल्ला समन्वय अधिकारी लगायत कतिपय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेको अनुभवले जिसस काठमाडौँका काम अझ प्रभावकारी रुपमा अगाडि बढ्ने बुढाथोकीले अपेक्षा व्यक्त गरे ।
उनले जिसस सञ्चालनका लागि स्पष्ट कानुनको अभावमा कतिपय कार्य सम्पादन गर्न कठिन प्राय भएको चर्चा गर्दै काठमाडौंले अहिले पनि विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरेर काम गरिरहेको स्पष्ट पारे ।

नवनियुक्त जिल्ला समन्वय अधिकारी रिजालले औचारिक रुपमा गरिने स्वागत कार्यक्रममले आपसमा सद्भाव र प्रेम बढ्दै जाने भन्दै प्रेमले संसार जित्न सकिने बताए । जिसस बाहिरबाट हेर्दा ओझेलमा परेको जस्तो देखिएको चर्चा गर्दै समन्वय अधिकारी रिजालले जिससले संविधानले दिएको जिल्लाभित्रका स्थानीय तहसँग समन्वय र सहकार्य गरी अनुगमनको कार्य अगाडि बढाउनुपर्ने बताए ।
कार्यक्रममा स्वागत गर्दै जिसस उपप्रमुख शान्ति पाण्डेले रिजाल काठमाडौँको समन्वय अधिकारीको भूमिका रही रहँदा कार्यकाल पूर्णरुपमा सफल रहने विश्वास व्यक्त गरिन् । कार्यक्रममा जिससका सदस्यहरुले रिजाललाई टीका, फूल र खाँदा लगाएर स्वागत गरेका थिए ।
रिजालसँग यस अघि स्थानीय निकाय हुँदै स्थानीय तहसम्मका कार्यालयमा रहेर सेवा प्रवाह गरिसकेको अनुभव छ । यस अगाडिका जिल्ला समन्वय अधिकारी राजेन्द्रबहादुर अर्याल बागमती प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा सरुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिजाललाई काठमाडौंका जिल्ला समन्वय अधिकारीको रुपमा सरुवा गरेको हो ।