काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरूले आफ्नो मौलिकता छोड्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले बिहीबार नेपालको भौगोलिक एकीकरणकाे नेतृत्वकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा भिडिओ सन्देश जारी गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
नेपालीहरूले आफ्नो क्षमता चिन्न नसकेको पूर्वराजा शाहको भनाइ छ । पृथ्वीनारायणले दृव्योपदेशमा बताएका विषय लागू गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘राष्ट्रनिर्माता’का मार्गदर्शनलाई आत्मसात् गर्नसके नेपाललाई कसैले केही गर्न नसक्ने उनको दाबी छ ।
‘हामी सुनको कमण्डलु थापेर अरुसँग भिख माग्दै आफ्नो स्रोत र सीपको दुरुपयोग गरिरहेका छौँ । हाम्रो देशले लिनुपर्ने समृद्धिको बाटो र हामीले अवलम्ब गर्नुपर्ने वैदेशिक दृष्टिका सम्बन्धमा राष्ट्र निर्माताबाट स्पष्ट निर्देशन भएको छ,’ ११ मिनेट ४६ सेकेन्ड लामो सन्देशमा उनले भनेका छन् ।
पूर्वराजा शाहले विदेशी भूमिका नीति र दर्शन नेपालीलाई नचाहिने पनि बताएका छन् । ‘हामीमध्ये कतिपय दाजुभाइ दिदीबहिनी विदेशी भूमिका निर्मित वादमा किन भर परेका हुन् भन्ने प्रश्न गर्नुपर्ने बेला आएको छ,’ उनले भनेका छन् ।
दिव्योउपदेशबाट नेपाललाई तीन शताब्दीअघि नै राष्ट्रवाद र आर्थिक सम्बृद्धिका धारणा प्राप्त भएको पनि पूर्वराजा शाहले उल्लेख गरेका छन् । पछिल्लो समय नेपालीहरू विदेशीबाट सिर्जित वादविवादमा गइरहेको भन्दै यसको समीक्षा गर्नुपर्ने बेला आएको उनको भनाइ छ । शनिबार पुस २७ गते पृथ्वीनारायणको जन्मजयन्ती हो ।