काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका ४ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरूको पदावधि १ वर्ष थप गर्ने निर्णय गरेको छ । नियमावलीअनुसार अनिवार्य अवकाशमा जान लागेका डिआइजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि थपिएको हो ।
उनीहरूको ४ बर्से पदावधि मंगलबार रातिदेखि सकिँदै थियो । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी उनीहरूको पदावधि थप गरेको हो । सशस्त्रको मुख्यालयले २ साताअघि नै उनीहरूको पदावधि थप गर्न सिफारिस गरेको थियो । सो सिफारिस गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता गरेको थियो ।
सशस्त्र प्रहरी नियमावलीअनुसार डिआइजीको पदावधि ४ वर्षको हुन्छ । सरकारले चाहेमा थप १ वर्ष थप्न सकिने व्यवस्था छ । सशस्त्र नियमावली २०७२ को परिच्छेद १० को दफा ६५ मा एआइजी र डिआइजीको पदावधि आइजिपीको सिफारिसमा मन्त्रिपरिषद्ले १ वर्ष थप्न सकिने व्यवस्था गरेको छ ।