काठमाडौं । दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाहीको शीर्ष भूमिका रहेको फिल्म ‘दुखी आत्मा’को टिजर सार्वजनिक भएको छ । ३ मिनेट १४ सेकेण्डको टिजरले कथावस्तुबारे दर्शाएको छ ।
अधवैंशे पुरुषले युवतीलाई प्रेम प्रस्ताव राख्न गरेको संघर्षको कथा वरपर टिजर घुमेको छ । चरित्रको यौन मनोविज्ञान र बाहिर मानिस खुसी भएपनि भित्र भित्रै ऊ कति दुखी छ भन्ने थिमलाई टिजरले दर्शाउन खोजेको छ ।
जन्मदिन मनाउन र केक काट्न युवतीले युवकलाई मध्यरातमा घरमा बोलाउँछे । त्यसपछि यी दुईको सम्बन्ध कता मोडिएला ? ‘एन एडल्ट ड्रामा’ लेखिएको टिजरमा पात्रबीचको यौन मनोविज्ञानलाई केलाउन प्रयत्न गरिएको छ ।
टिजरमा अनुपविक्रम र शिशिर बाङदेल लगायतका सहायक कलाकार पनि छन् । फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । उनकै पटकथा लेखन छ । ‘नाङ्गो गाउँ’ निर्माता कम्पनी क्लक क्रिएसन्स र हिमाल कडरियाले फिल्म निर्माण गरेका हुन् ।
यो फिल्म भ्यालेन्टाइन्स डे अवसरमा २ फागुन (१४ फेब्रुअरी’मा प्रदर्शन तयारीमा छ ।