काठमाडौँ । यही २५ माघदेखि प्रदर्शनमा आउन लागेको हरर फ्यामिली ड्रामा चलचित्र ‘ममीको म त यसै नक्कली’ बोलको गीत सार्वजनिक भएको छ । काठमाडौँमा सोमबार उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा शब्द हर्क साउदको रहेको छ भने स्वर गायिका समिक्षा अधिकारी र बिग्यानी पराजुलीको रहेको छ । त्यस्तै संगीत एसडी योगीले भरेका छन् । २५ माघमा रिलिज हुने सिनेमामा प्रियंका कार्की, दीया मास्के तथा सुलक्षण भारती प्रमुख भूमिकामा रहेका छन् ।
सिनेमामा उनीहरूका अलावा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । समर डेब्यू निर्देशक हुन् । सिनेमाका निर्माता लोकराज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।
‘ममी’को छायांकन निशाल पौडेल र शरद महतोले संयुक्तरूपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाइनमा श्रवल आरपी रंग संयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् । सिनेमालाई काठमाडौँ उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दै छन् ।