काठमाडैँ । यस वर्ष दसैँको टीका लगाउन विदेशमा बसोबास गर्ने नेपालीका लागि पनि स्थानीय समयअनुसार साइत सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका अनुसार भारतको दिल्लीमा अक्टोबर २१ मा बिहान ९ः११ बजे, भुटानको थिम्पुमा बिहान १०ः१४ बजे र अमेरिकाको न्युयोर्कमा अक्टोबर २० मा बिहान १०ः११ बजे टीकाको साइत रहेको छ ।
त्यस्तै, क्यानडाको टोरन्टोमा अक्टोबर २० मा बिहान १०ः४१ बजे, बेलायतको लन्डनमा बिहान १०ः५५ बजे, फ्रान्सको पेरिसमा बिहान ११ः३९ बजे र जापानको टोकियोमा अक्टोबर २१ मा बिहान १०ः१७ बजे टीका लगाउने साइत तोकिएको छ । अस्ट्रेलियाको सिड्नीमा अक्टोबर २१ मा बिहान ९ः२१ बजे र मेलबर्नमा बिहान ९ः३० बजे साइत रहेको समितिले जनाएको छ ।
खाडी मुलुकतर्फ युएईको अबुधाबीमा अक्टोबर २१ तारिख बिहान १०ः३१ बजे, कतारको दोहामा बिहान ९ः४१ बजे र साउदी अरबमा बिहान १०ः०१ बजे टीकाको साइत उत्तम छ । मलेसियाको क्वालालम्पुरमा २१ अक्टोबर २०२६ का दिन बिहान १०ः४७ बजे, थाइल्यान्डको बैंककमा बिहान १०ः०७ बजे, दक्षिण कोरियाको सियोलमा बिहान ११ः१३ बजे, सिंगापुरमा बिहान १०ः३१ बजे, हङकङमा बिहान १०ः२७ बजे र म्यानमारको यांगुनमा बिहान ९ः५७ बजे टीकाको शुभसाइत छ ।
अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका सभापति प्रा.डा. माधव भट्टराईले तिथ्यादिको स्थानीय मानअनुसार पर्व मनाउनुपर्ने शास्त्रीय मान्यता रहेकाले सम्बन्धित देशको स्थानीय समयअनुसार टीका लगाउन आग्रह गरेका छन् ।
