नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ सिरिजको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकारमा रङमा परिवर्तन गरी नयाँ सुरक्षण विशेषतासहितको ‘सिरिज २०२५’ को १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याएको हो।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले असोज ८ गतेदेखि नयाँ नोट चलनचल्तीमा आउने जानकारी दिएको हो। नयाँ नोटको संकेत नम्बर ९२०००००१ बाट सुरु गरिएको छ। यसअघि १ हजार रुपैयाँ दरको ‘सिरिज २०१९’ का लागि ६८०००००१ देखि ९९९९९९९९ सम्मका संकेत नम्बर प्रयोग गर्ने सूचना प्रकाशित भए पनि ६८०००००१ देखि ९१४४०००० सम्मका नोट मात्र चलनचल्तीमा ल्याइएकाले नयाँ सिरिजको संकेत नम्बर ९२०००००१ बाट सुरु गरिएको राष्ट्र बैंकले जनाएको छ।
नयाँ नोटको रङ साविकको तुलनामा परिवर्तन गरिएको छ। नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको राष्ट्र बैंकले जनाएको छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र र लालीगुराँसको पानीछाप राखिएको छ।
पानीछापको मुनि ‘१०००’ अंकसमेत राखिएको छ। नोटको दायाँतर्फ निलो रङमा १००० को केही अंश देखिने ‘सि थ्रु रजिस्टर’ राखिएको छ। नोटलाई प्रकाशतर्फ पारेर हेर्दा उक्त अंक पूर्ण रूपमा देखिने व्यवस्था गरिएको छ।