काठमाडौं । देशभरका महिला जनप्रतिनिधिहरुको आइकन प्रतियोगीताबाट उत्कृष्ट ३ जना छानिएका छन् । उत्कृष्ट ३ मा रहेर आइकन घोषित हुनेहरुमा गौमुल गाउँपालिका बाजुराकी उपाध्यक्ष सीता थापा, सिगास गाउँपालिका बैतडीकी उपाध्यक्ष धाना धामी र बडिगाड गाउँपालिका, बागलुङकी अध्यक्ष गण्डकी थापा अधिकारी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई सम्मान एवं प्रशंसापत्र प्रदान गरेका छन् । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुबाट निर्णायक मण्डलले छानेर २७ जना सर्ट लिस्टमा परेका थिए । ती मध्ये तीन जना उत्कृष्ट बनेका हुन् ।
आइकन घोषित हुने उपाध्यक्षद्धय थापा र धामी नेकपा एमाले र अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
सम्मान एवं प्रशंसापत्र प्रदान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताए । प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताए । हिजो छोरीहरुको साक्षरताको स्तरमाथि आउन नसकेकामा आज महिलाहरु शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको उनको भनाइ थियो ।
‘व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परि।वर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरुको उपस्थिति र सक्रियता नै काफी छ । महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘महिलाले समान अधिकार पाउनु संवैधानिक र कानुनी अधिकार हो । ती सबै समानता दिने ठाउँमा हामी पुग्नुपर्छ । हक अधिकारको उपभोग र अवसरमा समानाता चाहिएको छ । प्राप्त उपलब्धिहरु पर्याप्त नभएका हुन सक्छन् । आज स्थानीय तहमा ४० प्रतिशत जनप्रतिनिधि छन् । यो उपस्थिति प्रगतिउन्मुख छ । यसलाई बढाएर लानुपर्छ ।’
प्रधानमन्त्री ओलीले महिलाहरुमा करुण, माया र स्नेहभाव बढी हुने र उनीहरुको भूमिका हरेक क्षेत्रमा उत्कृष्ठता र श्रेष्ठता हासिल गरेको उल्लेख गरे । कार्यक्रममा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई आइकन सम्मान प्रदान गरिएको थियो ।