काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले हाल सञ्चालनमा रहेको विद्युतीय खरिद प्रणाली (e-GP System) मा उच्च सुरक्षा जोखिम देखिएपछि प्रणालीको प्रयोग अनिश्चितकालका लागि स्थगन गरेको छ । कार्यालयको मिति २०८३ भदौ ११ गतेको निर्णयानुसार मर्मतसम्भार र सुधार कार्यका लागि विद्युतीय खरिद प्रणाली बन्द गरिएको हो ।
सार्वजनिक निकायहरूलाई जारी गरिएको सूचना अनुसार अर्को व्यवस्था नभएसम्मका लागि विद्युतीय प्रणालीमार्फत हुने सम्पूर्ण खरिद प्रक्रियाहरू रोकिएका छन् । प्रणाली बन्द भएपछि उत्पन्न हुनसक्ने जटिलतालाई ध्यानमा राख्दै कार्यालयले वैकल्पिक व्यवस्था समेत मिलाएको छ ।
असार तथा भदौ महिनाभित्र प्रकाशित भई प्रस्ताव पेश गर्ने म्याद बाँकी रहेका, तथा नयाँ प्रकाशनको क्रममा रहेका बोलपत्र (Tender), आशयपत्र र सिलबन्दी दरभाउपत्रहरूको प्रक्रिया अब सार्वजनिक निकायहरूले हार्डकपी (भौतिक कागजपत्र) मार्फत अगाडि बढाउन सक्नेछन् ।
त्यसैगरी, यसअघि नै विद्युतीय प्रणालीमा बोलपत्र वा दरभाउपत्र खोलिसकिएको भए पनि आपूर्तिकर्ता तथा परामर्शदाताहरूको प्रस्ताव डाउनलोड गर्न बाँकी रहेका ठेक्काहरूको हकमा सम्बन्धित निकायको अनुरोधमा कार्यालयबाटै आवश्यक सहजीकरण गरिने जनाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको यस कार्यालयले प्रणालीको सुरक्षा प्रणाली चुस्त बनाएर शीघ्रातिशीघ्र पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिएको छ ।