करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ । शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको उपहार जितेका छन् । १० लाख रुपैयाँ विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ हो । अन्य १५ जनाले भने एक–एक लाख रुपैयाँको उपहार जितेका छन् । आन्तरिक राजश्व विभागले आज अर्थ मन्त्रालयमा एक कार्यक्रम गरेर उपहार विजेताबारे जानकारी दिएको हो ।
करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत उपभोक्तालाई बिल लिने बानीको विकास गराउने र कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो योजना सञ्चालन गरिएको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा करदाता प्रोत्साहन कार्यक्रम ल्याएको थियो । यसको पहिलो घोषणा आज गरिएको हो । हरेक १५ दिन १५ जनालाई १/१ लाख र एक जनालाई बम्पर पुरस्कार १० लाख दिने गरी यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।