अभिनेत्री तथा निर्देशक झरना थापाले फिल्म ‘ए मेरो हजुर-५’ को छायांकन सुरु गर्न लागेको बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले फिल्मको सुटिङ साउन २९ गतेदेखि सुरु गर्न लागेको जानकारी दिएकी हुन्।
फिल्मको छायांकन बाजुरास्थित बडीमालिका मन्दिरबाट सुरु गर्न लागेको उनको भनाइ छ। यस फिल्मलाई सञ्जय लामाले खिच्नेछन्।
बडीमालिकाको चर्चा गर्दै उनले लेखेकी छन्, ‘नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर बडीमालिकाबाट मेरो नयाँ सिनेमा ए मेरो हजुर-५ को छायांकन यात्रा यही साउन २९ गतेदेखि शुभारम्भ हुँदै छ।’
निर्देशक थापाले बडीमालिकाजस्तो धार्मिक धरोहरबाट सिनेमाको यात्रा सुरु गर्न पाउँदा आफूहरू गौरवान्वित भएको उल्लेख गरेकी छन्। उनले बडीमालिका धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि भएको उल्लेख गरेकी छन्।
उनले लेखेकी छन्, ‘हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत संगम रहेको बडीमालिका केवल एक धार्मिक तीर्थस्थल मात्र होइन, नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो।’
साथै प्रधानमन्त्री वालेन्द्र शाहले समेत बडीमालिकालाई सुदूरपश्चिमको गौरव र नेपालको पर्यटन विकासको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यसको प्रचार-प्रसारमा विशेष जोड दिएको प्रसंग पनि स्मरण गरेकी छन्। उनले नेपाली प्रकृति, संस्कृति र भावनालाई अझ व्यापक रूपमा दर्शकमाझ पुर्याउने उद्देश्यले ‘ए मेरो हजुर-५’ बनाउन लागेको बताएकी छन्।
झरनाकाे निर्देशनमा बन्ने फिल्ममा सुहाना थापा र अनमोल केसी मुख्य भूमिकाका देखिनेछन्। यसबाहेक अन्य कलाकार नाम खुलाएको छैन। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने सिनेमाका निर्माता सुनिलकुमार थापा हुन्।
सुहाना र अनमोलले तेस्रो पटक सहकार्य गर्दैछन्। यसअघि उनीहरूले ‘ए मेरो हजुर-३’ र ‘ए मेरो हजुर-४’ अभिनय गरेका थिए। उनीहरूको जोडीलाई दर्शकले निकै रुचाएका थिए।
‘ए मेरो हजुर’ शृंखलाका अघिल्ला चारै संस्करण बक्स अफिसमा सुपरहिट बनेका थिए। शिव रेग्मी निर्देशित ‘ए मेरो हजुर’ को दोस्रो सिक्वेलबाट झरनाले निर्देशन थालेकी हुन्। त्यसयता ‘ए मेरो हजुर’ शृंखलाका बाँकी संस्करण झरनाले नै निर्देशन गर्दै आएकी छन्।