ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) राजधानी प्रदेश कमिटीको तेस्रो पूर्ण बैठक थप सदस्यहरूको मनोनयन र विभिन्न समसामयिक प्रस्तावहरू पारित गर्दै ललितपुरमा सम्पन्न भएको छ । बैठकले राजधानी प्रदेश कमिटीको संगठनलाई थप सुदृढ बनाउन ४० जना नयाँ सदस्यहरू मनोनयन गर्नुका साथै कमिटीको सचिवालय समेत विस्तार गर्ने निर्णय गरेको छ ।
बैठकले संगठन सुदृढीकरणका लागि राजधानी प्रदेशभित्र पार्टी सदस्यता विस्तार र नवीकरणलाई तीव्रता दिने योजना पारित गरेको छ । यसका साथै आगामी स्थानीय तहको निर्वाचनलाई मुख्य केन्द्रविन्दुमा राखेर जनताको माझमा पुग्ने र नागरिक तहमा व्यापक एवं सक्रिय अन्तरसंवादहरू सञ्चालन गर्ने विशेष कार्ययोजना समेत बैठकबाट अनुमोदन गरिएको छ ।
बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि समीक्षा गर्दै प्रदेश कमिटीले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएको छ । सरकार निरंकुश, सर्वसत्तावादी र नवफासिवादी शैलीमा अघि बढ्दै जनताका आधारभूत लोकतान्त्रिक अधिकारहरूमाथि अंकुश लगाउन उद्यत रहेको निष्कर्ष बैठकले निकालेको छ । यस्तै, उचित विकल्प र व्यवस्थापनविना सुकुम्बासीहरूलाई विचल्ली पार्ने सरकारको कदम भर्त्सनायोग्य रहेको ठहर समेत कमिटीले गरेको छ ।
यसैगरी, पार्टीको केन्द्रीय सचिवालय बैठकले एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने गरेको निर्णयलाई राजधानी प्रदेश कमिटीले उत्साहका साथ स्वागत गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सचिव एवं राजधानी प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पार्टी कार्यकर्ताहरूलाई जनतासँग प्रत्यक्ष जोडिन निर्देशन दिए । उनले सदस्यता नवीकरणसँगै समुदायस्तरमा पुगेर भेला तथा अन्तरक्रियाहरू आयोजना गर्न र युवा नेतृत्व विकासका लागि ठोस योजनाका साथ जिम्मेवारी तोकेरै कार्यक्षेत्रमा खटिन आग्रह गरे । चालु सचिवालय बैठकले कार्यविभाजन गरी केन्द्रीय नेताहरूलाई समेत 'जरास्तर' (तल्लो तह) मा परिचालन गर्ने तयारी गरिरहेको जानकारी दिँदै उनले आम कार्यकर्ताको अपेक्षा अनुसार पार्टीलाई सुदृढ, पुनर्जागृत र एकताबद्ध बनाइने बताए ।
बैठकको अन्त्यमा मुलुकको समसामयिक परिस्थितिलाई समेटेर विभिन्न प्रस्तावहरू पारित गरिएको छ, जसमा बढ्दो महँगी नियन्त्रण, सुशासनको प्रत्याभूति, दलित र महिलाहरूमाथि भइरहेका हिंसाजन्य घटनाको विरोध तथा न्यायालयको स्वायत्तता रक्षाको माग गरिएको छ । साथै, अव्यवस्थित बसोवासी र सुकुम्बासीहरूको दिगो एवं मानवीय पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराइएको छ । हाल एमालेको यस राजधानी प्रदेश कमिटी अन्तर्गत काठमाडौँ, ललितपुर, भक्तपुर र गैरभौगोलिक गरी चारवटा विशेष जिल्ला कमिटीहरू क्रियाशील रहेका छन् ।