स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक देखिएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साताअघि नापी तथा मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै दिन इच्छुक पालिकाहरूलाई सहभागी हुन सूचना आह्वान गरेको थियो । सोहीअनुसार बिहीबारसम्म धरान उपमहानगरपालिकासहित २०७ स्थानीय तहले सेवा दिन इच्छुक रहेको जानकारीसहित निवेदन पठाएका मन्त्रालयले जनाएको छ।मन्त्रालयले प्राप्त निवेदनउपर अध्ययन थालेको छ ।
मन्त्रालयले चरणबद्ध रूपमा इच्छुक सबै पालिकालाई सेवा हस्तान्तरण गर्ने योजनाअनुसार पहिलो चरणमा केही पालिकाहरू छनोट गरी नापी तथा मालपोतसम्बन्धी सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने तयारीसमेत सुरु गरेको छ ।
पालिका छनोट गर्दा सेवाग्राहीको चापको अवस्था, पहुँच तथा व्यवस्थापन क्षमतालाई आधार मानी कम भिडभाड भएका साथै अत्यधिक सेवा चाप रहेका पालिकालाई प्राथमिकता दिइने मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ।
इच्छुक पालिका रहेका जिल्लास्थित नापी तथा मालपोतका अधिकारीहरूलाई तत्कालै स्थानीय तहमा पुगेर स्थलगत अनुगमन गरी वस्तुस्थिति जानकारी गराउन मन्त्रालयले बिहीबार नै पत्राचार गरेको छ। लगत्तै नापी तथा मालपोत सेवा प्रवाहका लागि स्थानीय तहलाई आवश्यक प्राविधिक तथा जनशक्ति व्यवस्थापन गर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पालिकाहरूलाई आवश्यक सामग्रीसहित कर्मचारीहरूलाई समेत तालिम र प्रशिक्षण दिने तयारी गरेको छ। एक साताभित्रै सबै तयारी पूरा गरेर केही पालिकामा नापी र मालपोत सेवा हस्तान्तरण गर्ने बताइएको छ ।