काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो कार्यकालमा दलित समुदायको लागि विशेष कार्यक्रम घोषणा हुने बताएका छन् ।
मंगलबार ५८औँ अन्तर्राष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवस (२१ मार्च) को सन्दर्भमा काठमाडौंमा आयोजित सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो कार्यकालमा दलित समुदायका लागि विशेष कार्यक्रम घोषणा हुने बताएका हुन् ।
उनले आफ्नो यो कार्यकालमा दलित समुदायले सयौँ वर्षसम्म सम्झने गरी केही कार्यक्रम घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे । दलित समुदायका माग र मुद्दाहरूको सम्बोधन अहिलेको परिस्थितिमा आफूबाहेक अरुले गर्न नसक्ने प्रचण्डको दाबी छ ।
‘तपाईंहरूको अगाडि आजको यो ऐतिहासिक दिनमा के घोषणा गर्न चाहान्छु भने मेरो यो कार्यकालमा दलितहरूले भविष्यसम्म, सयौँ वर्षसम्म सम्झिने गरी केही घोषणा म गर्दैछु,' प्रचण्डले भने, 'यो विश्वास र प्रतिबद्धता म तपाईंहरूको अगाडि व्यक्त गर्न चाहन्छु ।’
दलित समुदायको हक र अधिकारको निम्ति सिंगो राज्य र राज्यका निकायहरू जिम्मेवारपूर्ण हुनुपर्ने प्रचण्डले बताए । दलित समुदायको विकास र उन्नतिका लागि राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार दिनुपर्ने उनको भनाइ छ ।
सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समानताको आधारशिला खडा गर्न सकिने प्रचण्डले बताए । यसका निम्ति आवश्यक भूमिका खेल्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
दलित समुदायले आज पाएका संवैधानिक र कानुनी हक, अधिकारहरू 'जनयुद्ध'को उपलब्धिको रूपमा आएको बताए ।