काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपति निर्वाचित भएका हुन् । उनले संघीय संसद्तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन् ।
प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदले उपराष्ट्रपतिमा मत दिएका हुन् । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार ३ सय १४ मतभारभन्दा बढी मत ल्याई निर्वाचित भएका हुन् ।
यस्तै निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ ८ हजार ११२ र संघीय संसद्तर्फ ८ हजार २१६ गरी कुल १६ हजार ३२८ मत प्राप्त गरिन् । जनमतबाट उपराष्ट्रपतिका उम्मेदवार ममता झाले प्रदेशतर्फ ७२० र संघतर्फ १ हजार ८१७ गरी २ हजार ५३७ मतभार प्राप्त गरेको राष्ट्रपति-उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै जसपाबाट उपराष्ट्रपतिकी अर्की उम्मेदवार प्रमिला कुमारीले प्रदेशतर्फ ४८ मतभार अर्थात् १ सांसदको मत पाएकी छन् । सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार रामसहायप्रसाद यादव बनेकाले प्रमिलाले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेकी थिइन् ।
उपराष्ट्रपतिमा निर्वाचित यादव बारा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् । उनी जसपाका संसदीय दलका नेतासमेत हुन् । विक्रम संवत २०२७ सालमा बाराको कलैयामा जन्मिएका यादवले बीएस्सी, बीएडसम्मको अध्ययन गरेका छन् । शिक्षण पेसा त्यागेर उनले २०४६ सालपछि नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।
त्यसपछि उनी मधेसी जनअधिकार फोरमको संस्थापक रही त्यसको सुरूवातदेखि महासचिवसमेत बने । २०६४ मा बारा-२ बाट संविधानसभा सदस्य निर्वाचित भएका यादव २०७४ र २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।
उपराष्ट्रपति निर्वाचनको अन्तिम मतपरिणाम :
प्रदेश सभा सदस्य मतदान केन्द्र :
१. अष्ट लक्ष्मी शाक्य - १६९
२. प्रमिला यादव -१
३. ममता झा - १५
४. राम सहाय प्रसाद यादव - ३२९
संघीय संसद मतदान केन्द्र :
१. अष्ट लक्ष्मी शाक्य - १०४
२. प्रमिला यादव -०
३. ममता झा -२३
४. राम सहाय प्रसाद यादव -१८४