काठमाडौ । नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील नेकपा (एमाले)निकट नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।
महाधिवेशनमार्फत १७ पदाधिकारीसहित १२१ जनाको केन्द्रीय कार्यसमिति चयन हुनेछ । हाल युनियनको नेतृत्व रामकुमार थेवेले गर्दै आइरहेका छन् ।
दुई दिन चल्ने महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी ५३५ जना सहभागी हुँदै छन् ।
११औँ महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।
महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको तथा युनियनको कार्यसमिति निर्विरोध चयन गरिने युनियनका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कपिल गौतमले जानकारी दिए ।
गौतम महाधिवेशनमा महासचिवको दाबेदार हुन् । उनी २०७० सालदेखि निरन्तररूपमा युनियन सचिवको जिम्मेवारीमा छन् ।