कैलाली । धनगढीमा सुदूरपश्चिम प्रदेश खुला एकल लोक गायन प्रतियोगिता हुने भएको छ । बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेश समितिले लोककला जगेर्नाका लागि तथा नवप्रतिभाको पहिचानका लागि प्रतियोगिता गर्न लागेको जनाएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश समितिले यही चैत ४ गते एकल लोक गायन प्रतियोगिता गर्न लागेको हो । प्रतिष्ठानका प्रदेश अध्यक्ष पूर्ण भाटले सुदूरपश्चिमको मौलिक लोककला जोगाउनका लागि एकल लोक दोहोरी प्रतियोगिता गर्न लागेको बताए । उनले भने, ‘समाजका कुना कन्दरामा लुकेका कला प्रतिभालाई अगाडि ल्याउने हाम्रो उद्देश्य हो ।’ जसले कला हुँदा हुँदै पनि स्टेज पाएका छैनन् त्यस्ता लुकेर रहेका प्रतिभालाई स्थान दिने प्रतियोगिता भएको उनले बताए । आफ्नो कला संस्कृतिलाई देश र विदेशमा चिनाउने उद्देश्य आफूहरुको रहेको प्रतिष्ठानका प्रदेश सचिव सूर्य विरही साउदले बताए । नयाँ नयाँ प्रतिभालाई स्थान दिन प्रतियोगिता गर्न लागिएको उनले बताए ।
उनले प्रदेशका प्रत्येक जिल्लाबाट १÷१ जना गरी ९ जनाको सहभागिता हुने बताए । साउदले भने, ‘जिल्लामा प्रतियोगिता गरेर छनोट भएर एक जिल्लाबाट एक जना सहभागी आउने छन् ।’ प्रतियोगीले लाइभ बाजामा प्रस्तुति दिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले ट्रफी, प्रमाणपत्रसहित क्रमशः २५ हजार, २० हजार र १५ हजार पुरस्कार प्राप्त गर्ने तथा सान्त्वना पुरस्कार प्रमाणपत्रसहति १० हजार रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रवद्र्धक प्रदेशको सामाजिक विकास मन्त्रालय र सहायक प्रवद्र्धक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहेको तथा प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।