रामप्रसाद रिजाल । प्रचण्ड प्रधानमन्त्री जसरी बन्नुभयो त्यसबारे अन्तराष्ट्रिय शक्तिकेन्द्रलाई पत्तै भएन र अनुमान समेत पनि भएन । प्रधानमन्त्री बन्न साथ उहाँले धम्की खेप्न सक्नुभएन । २ महिनामा कुन कुन देशबाट कति प्रतिनिधि नेपाल आए र के के भने ? त्यो लुकाउन सक्ने कुरै भएन ? देश बनाउने हुटहुटी भएका र राष्ट्रवादका पक्षमा उभिनेहरू जो सुकै हुन उनीहरु शक्ति केन्द्रका लागि दुश्मन हुन्छन् । नेपालमा भद्रगोल र अस्थिरता सृजना गर्ने उनीहरुको रणनीतिक योजना हो । कमरेड प्रचण्डलाई एउटै मुद्दाले गलाउँछ त्यो के हो सबैलाइ थाह नै छ ।
नागरिकता विधेयक ६ महिनाभित्र ल्याउने र सबै नेपालीले नागरिकता प्राप्त गर्ने, नेपालीका सन्त्तान अनागरिक हुन नपरोस् भन्ने उद्देश्यका साथ सत्ता साझेदार दलहरुको बीचमा सहमति भइ साझा न्युनतम कार्यक्रममा समेटिएको थियो । तर उनीहरु राष्ट्रघाती प्रावधानसहित नागरिकता विधेयक पारित गराउन चाहन्छन, एसपीपी फरक नाम दिएर पारित गराउन चाहन्छन ।
विदेशीले केपी ओली नेतृत्वको सरकारले गरेको काम जस्तो होईन अघिल्लो पाँच दलीय गठबन्धनको सरकारले गरेको जस्तो लुट र नेपालको अर्थतन्त्र टाट पल्टिएको हेर्न चाहन्छन । कमरेड प्रचण्डले प्रेसर खेप्ने आँट गर्नु भएन, तत्कालै फरक कोर्समा जाँदा उहाँमा लाग्ने अस्थिर चरित्र भएका नेताको आरोप अझै बलशाली हुने भयो भन्ने ठानेर हुनै नसक्ने राष्ट्रिय सहमतिको नारा फलाक्नु भयो ।
कमरेड बिष्णु पौडेल अर्थमन्त्री भएपछि अर्थतन्त्रमा केहि सकारात्मक सुचक देखिएका थिए । अब सबै बर्बाद गर्न खोजिदै छ, यी सबै बर्बादीबाट मुक्ति पाउने अरु कुनै उपाय छैन । एउटा मात्रै उपाय हो देश बर्बाद गर्नेहरूलाई नेपाली जनता सचेत हुने र कमजोर बनाइदिने ।
१ सिटलाइ सरकार बनाउन वा जोगाउन ज्यु हजुर गर्नु पर्ने, ३२ सिटलाइ देशको नेतृत्व सुम्पनु पर्ने, २–४ सिट जित्नेको हातमा समेत सरकारको चाबी हुने । धेरै सिट जित्नेहरु तीनैलाइ हात जोड्दै हिंड्नु पर्ने । १ सिटे पनि सत्तामा मोज गर्न पाउने, यही त हो राजनीतिक अस्थिरता । एउटाले बहुमत ल्याउन सक्ने र सोही पार्टीको मात्रै सरकार बनाउने गरि सिस्टम जब सम्म बन्दैन तब सम्म यस्तै हो देशको हालत । त्यसैले अब बेला भयो सिस्टम बदल्ने । अन्यथा अस्थिरताका कारण व्यवस्था प्रति वितृष्णा जगाउन मौका हेरेर बस्नेहरु सल्बलाउन थालेका छन् ।
कांग्रेसले सडकमा फालेपछि जुनसुकै सहमति गर्न तयार भएर प्रमको कुर्सी खोज्दै बालकोटको बार्दलीमा पुगेका एक निरीह ब्यक्ति हुन प्रचण्ड । जसलाई एमाले अध्यक्ष केपी ओलीले स्थिरताका खातिर सम्मानका साथ प्रमको कुर्सिमा राखिदिनु भयो । अहिले त्यो बखत भएका सहमतिलाई उल्लङ्घन गरेर राष्ट्रिय सहमतिको गीत गाउनु आफैमा लाजमर्दो कुरा हो ।
(रिजाल नेकपा एमालेका युवा नेता हुन् ।)