पोखरा । कास्की प्रहरीले विद्यार्थी बोक्ने स्कुल बसका ५ जना चालकलाई मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएको अवस्थामा नियन्त्रणमा लिएको छ । विद्यालय जाने समयमा चालकहरूले नै नशालु पदार्थ सेवन गरी गाडी चलाउने गरेको जनगुनासो बढेपछि प्रहरीले बिहीबार बिहान चलाएको विशेष चेकिङका क्रममा उनीहरू समातिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरीको संयुक्त टोलीले बिहान करिब ९:३० बजे पोखराका विभिन्न स्थानमा स्कुल बसहरूमाथि निगरानी बढाएको थियो । सो क्रममा विभिन्न नाम चलेका निजी विद्यालयका चालकहरूले नै मापसे गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा माउन्ट हेभन बोर्डिङकाे बस चालक ३३ वर्षीय आनन्द परियार, कुमुदिनी होम्सको बसका चालक ३७ वर्षीय गौतम गुरुङ र विन्देश्वरी स्कुलका बस चालक ४४ वर्षीय भक्तबहादुर गुरुङ रहेका छन् । त्यस्तै, अञ्जली बोर्डिङ स्कुलका बस चालक ४८ वर्षीय डम्बरबहादुर गुरुङ र एस.ओ.एस बोर्डिङ स्कुलका बस चालक ४७ वर्षीय पदम बिकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका पाँचै जना चालकहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखी थप अनुसन्धान र आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ । विद्यालयजस्तो संवेदनशील क्षेत्रमा विद्यार्थीको ज्यान जोखिममा पार्ने गरी चालकहरूले गरेको यो लापरबाहीप्रति अभिभावकहरूले चर्को आलोचना गरेका छन् । प्रहरीले आगामी दिनमा पनि स्कुल बसहरूको आकस्मिक चेकिङलाई निरन्तरता दिने जनाएको छ ।