काठमाडौं। भारत र श्रीलंकामा जारी आईसीसी टी-२० विश्वकपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोली सुपर–८ दौडबाट बाहिरिएको छ। आइतबार समूह चरणको तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। नेपाल यस विश्वकपमा सुपर–८ बाट बाहिरिने दोस्रो टोली बनेको छ।
यसअघि समूह बीबाट ओमान बाहिरिसकेको थियो। नेपाललाई हराएसँगै वेस्ट इन्डिज भने एक खेल अगावै सुपर–८ मा पुग्ने पहिलो टोली बनेको छ। समूह सीमा वेस्ट इन्डिज तीन खेलमा अपराजित रहँदै ६ अंकसहित शीर्ष स्थानमा छ।
नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो। ओपनर ब्राण्डोन किंग २२ रनमा आउट भए पनि कप्तान साइ होप ६१ र सिमरोन हेटमायर ४६ रनमा अविजित रहँदै टोलीलाई जित दिलाए।