सिन्धुपाल्चोक । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि घरदैलो अभियानमा रहेका सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का उम्मेदवार शेरबहादुर तामाङसमक्ष स्थानीय किसानले बाँदर र बँदेलको आतंक मुख्य समस्याका रूपमा राखेका छन् । मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाका विभिन्न गाउँ–बस्तीमा पुगेका तामाङलाई कृषकहरूले मकै, आलु, गहुँ लगायतका बालीमा वन्यजन्तुले व्यापक क्षति पुर्याएको भन्दै दुखेसो पोखेका हुन् ।
घरदैलोका क्रममा हेलम्बुका कृषक रञ्जन लामिछानेले भने, 'रातदिन खेत कुरेर बस्दा पनि बाली जोगाउन सकिएन, हाम्रो श्रम खेर गइरहेको छ ।'
किसानका समस्या सुनेपछि उम्मेदवार तामाङले सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा प्राविधिक तथा कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए । 'क्षतिपूर्ति वितरणलाई सहज बनाइनेछ र सामूहिक तारबार कार्यक्रमलाई थप विस्तार गरिनेछ,' उनले भने ।
वन्यजन्तुको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न जङ्गल क्षेत्रमा 'फ्रुट फरेस्ट' को अवधारणा लागू गर्ने योजना तामाङले अघि सारेका छन् । वनभित्रै बाँदर तथा अन्य वन्यजन्तुका लागि आवश्यक प्राकृतिक आहार (फलफूल) उपलब्ध गराउने व्यवस्था मिलाइने उनको तर्क छ । तामाङले भने, 'वनमै पर्याप्त आहार उपलब्ध भए जनावरहरू बस्ती र खेतीयोग्य जमिनतर्फ आकर्षित हुँदैनन् ।'
त्यस्तै, उनले बाँदर नियन्त्रणका लागि वैज्ञानिक अध्ययनका आधारमा व्यवस्थापन योजना तयार गरिने बताए । आवश्यक परेमा वन्यजन्तुको स्थानान्तरण, वासस्थान व्यवस्थापन तथा सामुदायिक सहभागितामा नियन्त्रणका कार्यक्रमहरू सञ्चालन गरिने उनले स्पष्ट पारे ।
निर्वाचन नजिकिँदै गर्दा सिन्धुपाल्चोकका किसानका लागि वन्यजन्तु नियन्त्रण प्रमुख चुनावी मुद्दा बनेको छ। स्थानीयले यस पटक आफ्ना समस्या समाधानका लागि ठोस र प्रभावकारी पहल हुने अपेक्षा राखेका छन् ।