काठमाडौं । ११ औं राष्ट्रिय रक्तदाता दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा एकै परिवारका चार सदस्यले रक्तदान गरेका छन् । रक्तदाताहरूको संस्था 'ब्लोडान' को आह्वान तथा कोटेश्वरस्थित सेती ओपी युवा क्लबको आयोजनामा शनिबार सम्पन्न बृहत् रक्तदान कार्यक्रममा उक्त परिवारले सामूहिक सहभागिता जनाएको हो ।
कोटेश्वरस्थित ग्रामर स्कुलमा भएको उक्त कार्यक्रममा ब्लोदान पूर्वी भेगीय क्षेत्रका अध्यक्ष रवि रिमालले ७५ औं पटक रक्तदान गरे । सोही अवसरमा उनकी श्रीमती र दुई छोराले पनि रक्तदान गरेको आयोजकले जनाएको छ । रगतको अभावलाई टार्न र अरूलाई पनि प्रेरित गर्न परिवारै मिलेर रक्तदान गरेको रिमालले बताए।
सेती ओपी युवा क्लबका अध्यक्ष श्रीकृष्ण तण्डुकारका अनुसार कार्यक्रममा १०० जनाभन्दा बढी स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका छन्। रक्तदानका लागि ग्रामर स्कुलले आवश्यक सहयोग तथा समन्वय गरेको थियो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ३२ की वडा सदस्य हीरादेवी पोखरेल तथा आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि निर्वाचनका लागि नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयाल लगायतको उपस्थिति थियो ।
पछिल्लो समय देशभर रगतको माग बढ्दै जाँदा यस्ता सामूहिक रक्तदानले बिरामीको ज्यान जोगाउन ठूलो मद्दत पुग्ने विश्वास आयोजकले लिएको छ ।