काठमाडौं । टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पमा परी तीनजनाको मृत्यु र ६८० भन्दा बढी व्यक्ति घाइते भएका बीबीसीले जनाएको छ ।
टर्कीको प्रकोप तथा आपत्कालीन एजेन्सीले स्थानीय समयानुसार सोमबार राति ८ बजेर ४ मिनेटमा ६.४ म्याग्निच्युड र त्यसको तीन मिनेटपछि ५.८ म्याग्निच्युडको भूकम्प मापन गरिएको जनाएको छ ।
टर्कीमा ती दुई नयाँ भूकम्पमा परी कम्तीमा तीनजनाको मृत्यु भएपछि उद्धारकर्ताले फेरि एकपटक भग्नावशेषमा फसेका मानिसको खोजी गरिरहेका छन् ।
टर्कीको छिमेकी मुलुक सिरियासँगको सीमानजिकै केन्द्रविन्दु भएर ती भूकम्प गएका हुन् । सोही ठाउँ केन्द्रविन्दु भएर यही फेब्रुअरी ६ तारिखमा विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पमा परी टर्की र सिरियामा ४४ हजार मानिसको मृत्यु भएको थियो । हजारौँ मानिस घरबारविहीन भएका थिए ।
सोमबारको नयाँ भूकम्पपछि दर्जनौँपटक परकम्प महसुस गरिएको बीबीसीले उल्लेख गरेको छ ।