काठमाडौं । भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर माटोको जोडाइबाट पुनःनिर्माण सम्पन्न गरी आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि आज क्षमापूजासहित प्राण प्रतिष्ठा गरेर सर्वसाधारणका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
सर्वसाधारणका लागि मन्दिर खुला गर्ने क्रममा आजै कन्याकुमारी र त्रिदेवीको पनि पूजा गरिएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर साढे सात वर्षपछि पुनःनिर्माण सम्पन्न भएको हो । रु तीन करोड १४ लाख लागतमा जयवागेश्वरी मन्दिर पुनःनिर्माण भएको हो । - रासस