काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिले राष्ट्रियसभाको उपाध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेको छ । बिहीबार बिहान पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको बैठकबाट यस्तो निर्णय गरिएको हो ।
उक्त निर्वाचनका विषयमा अरू दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
यस्तै, यही माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको उनले बताए । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही माघ २३ गते हुँदै छ । माघ २२ गते मनोनयनपत्र दर्ता गरिने कार्यतालिका छ ।