काभ्रे । खानीखोला गाउँपालिकाले माघ ९ गते सोनाम ल्होछार कार्यक्रम आयोजन गरेकाे छ । स्थानीय सरकारद्धारा आयोजित सो कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेस काभ्रेका सभापति एवं वाग्मती प्रदेश सभा सदस्य तीर्थ लामा खानीखोला आउने भएका छन् । २८५९औ सोनाम ल्होछार तामाङ्ग जातिको नयाँ बर्षको रुपमा मनाउदै आइरहेको यस बर्षलाई खानीखोला गाउँपालिकाले ३ दिन सार्वजानिक बिदा समेत दिएर भव्यरुपमा मनाउने भएका छन् । बहुधार्मिक, बहुसास्कृति, बहुपहिचान देश भएको हुनाले यस बर्षलाई बिशेष प्राथामिकता दिदै आएका छन् ।
गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले ल्होछार पर्व मनाउनको लागि आगामी माघ ७, ८ र ९ गते गाउँपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेको बताए । गाउँपालिकाले विविध कार्यक्रम गरी तीन दिन ल्होछार मनाउने जनाएको छ । अध्यक्ष थिङका अनुसार पहिलो दिन (माघ ७ गते) लामा खेन्पोबाट पुजा, दोस्रो दिन तामाङ भाषाको व्हाईखा (कविता) र ताम्बा÷डम्फू गीत प्रतियोगितासँगै तेस्रो दिन बृहत साँस्कृतिक कार्यक्रम सहित ल्होछार मनाउन लागिएको हो ।
उनले ल्होछारलाई गाउँपालिकाको साझा पर्वको रुपमा मनाउन ल्होछार मुल आयोजक समितिको सचिवमा गैरतामाङ समुदायको व्यक्तिलाई राखिएको बताए । गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाको संयोजकत्वमा ३५ सदस्यीय ल्होछार मुल आयोजक समिति यसअघि नै गठन गरिसकेका छन् । गाउँपालिका उपाध्यक्ष तथा समितिका संयोजक जिम्बाले व्हाईखा र ताम्बा प्रतियोगिताका प्रथम, द्धितीय र तृतीयलाई नगद सहित प्रमाणपत्र समेत दिने बताए । त्यस्तै उनले ल्होछारको अवसरमा गाउँपालिकाभित्र जन्मिएर विभिन्न क्षेत्रमा योगदान पु¥याएको व्यक्तिहरुलाई ‘खानीखोला प्रतिभा सम्मान’ कार्यक्रममार्फत् सम्मान गरिने बताए ।
ल्होछारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लाे अर्थात् वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ । तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ल्होछारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ । तामाङ समुदायले चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होछार अर्थात् नयाँ वर्षको रुपमा मान्ने गरिन्छ ।