साविकको खाँदबारी नगरपालिकाको १३ वटा वडा र सित्तलपाटी गाविसको ९ वटा वडाहरुलाई स्थानीय तहको पुनःसंरचना गर्ने क्रममा पुनसंरचना गरी अहिलेको खाँदबारी नगरपालिका निर्माण गरिएको हो । प्रदेश १ को सङ्खुवासभाको सदरमुकाम रहेको खाँदबारी नगरपालिका भौगोलिक र प्राकृतिक दृष्ट्रिकोणले महत्वपूर्ण र आकर्षक नगरपालिका मानिन्छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट खाँदबारी नगरपालिकाको नगर प्रमुखको पदमा निर्वाचित हुनु भएका नगरपालिका प्रमख महेश थपलियासँग हाम्रा संवाददाताले गर्नुभएको कुराकानीको सार संक्षेप ।
अन्य पालिका भन्दा खाँदबारी नगरपालिकाले केके काम फरकरुपमा गरेको छ ?
खाँदबारी नगरपालिकाले अन्य पालिका भन्दा केही नमूना र फरक शैलिमा काम गरेको छ । खासगरी खाँदबारीमा कार्यपालिकाको बैठकमा पत्रकार र नागरिक समाज व्यक्ति पनि बस्न पाउने र आफूलाई लागेका कुरा सुझावको रुपमा दिन सक्ने व्यवस्था गरेका छौ यो नै अहिले देखिएको नयाँ काम हो । यसले सुशासन कायम गर्न र कार्यपालिकालाई बाहिरबाट सुझाव लिन सहज भएको महशुस खाँदबारीले गरेको छ । त्यस्तै छोटो समयमा नगरपालिकाले अमेरिकाको सुपेरियर सीटीसँग भगिनी सम्बन्ध कायम गरेको छ । यसले दुई सहरबीचको विकासका मोडल र सेवा प्रवाहको आदानप्रदान गर्ने कार्य शुरुवात गरिनेछ । यी काम अन्य पालिका भन्दा केही नयाँ छन् । काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्धको प्रस्ताव भएको छ । यहि भगिनी सम्बन्धको प्रस्तवाको क्रममा गत भदौमा खाँदबारीमा उत्पादन भएका रुद्राक्षको बिरुवा पशुपति क्षेत्रमा पर्यटनमन्त्री, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, र खाँदबारीका नगर प्रमुख महेश थपलियाले संयुक्तरुपमा बृक्षारोपण गरिएको थियो ।
खाँदबारीमा शैक्षिक गुणस्तर कायम गर्न केके काम भएका छन् ?
खाँदबारीमा गुणस्तरीय शिक्षा दिएका कलेजले छात्रवृत्ति दिनका लागि स्कूलमा दुई पक्ष सम्झौता गरेका छौं । यसले जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका व्यक्तिले शिक्षा लिन सहयोग पुगेको छ । अब शिक्षा प्राविधिक र स्वरोजगार हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै शिक्षालाई व्यवस्थित र गुणस्तर बनाउँदैछौं ।
क्रमिक रुपमा सहरीकरणतर्फ उन्मुख हुँदै गएको खाँदबारीले कसरी फोहोर व्यवस्थापन गर्ने कार्य गरेको छ ?
अहिले फोहोर व्यवस्थापन प्रमुख चुनौतिको रुपमा देखिएको छ । खाँदरबारीले फोहोरलाई व्यवस्थित गर्न फोहोर उत्सर्जन हुने स्थानबाटै कुहिने र नकुहिने फोहोर छुट्याउने र कुहिने फोहोरलाई कम्पोष्ट मल बनाउने नकुहिने फोहोरलाई निर्मलिकरण गरेर पुनः प्रयोग गर्न मिल्नेसम्म पुनः प्रयोग गर्ने योजना कार्यान्वयन गर्दैछौं । साथै कुहिने फोहोरलाई टिटमेन्ट प्लान्ट बनाएर मल बनाउने काम गर्दैछौं ।
सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन खाँदबारीले केके काम गरेको छ ?
खाँदबारी नगरपालिकाले आवश्यकताका आधारमा कर्मचारी बैठक बसी सुशासन र सहजरुपमा सेवा प्रवाह गर्नका लागि निर्देशन प्रदान गर्ने गरिएको छ । सेवाग्राहीको गुनासो तत्काल सुनुवाइ हुने गरिएको, योजना कार्यान्वयको अनुगमन हुने गरिएको अनुगमनबाट प्राप्त गुनासाको सम्बोधन गर्ने गरिएको छ ।
नगरपालिकाले सहजरुपमा सूचना प्रवाह गर्नका लागि सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी व्यवस्था गरिएको, नगरपालिकाका निर्णय ओइभसाइडमा राखी नगरपालिकाले सुशासनलाई उच्च प्राथमिकता दिने गरिएको छ । सामािजक सुरक्षा भत्ता प्रत्येक वडामा पुर्याउने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने काम खाँदाबारी नगरपालिकाले गरिरहेको छ ।
कृषिका लागि उर्बर भूमिको रुपमा मानिने खाँदबारीको उत्पादनलाई कसरी व्यवस्थित गर्ने योजना बनाएको छ ?
खाँदबारी नगरपालिकाका किसानले उत्पादन गरेका खाद्यान्न, तरकारी लगायतका सामाग्रीलाई बजारीकरण नगरपालिकाले गर्नुपर्छ भन्ने मान्यताका साथ नगरपालिकाले योजना बनाएको छ । यसो हुँदा किसानलाई आफूले उत्पादन गरेको वस्तु विक्री नहोला भन्ने चिन्ता नहुने र किसानले उत्पादन गरेको वस्तुको सहज बजार जाने भएकाले किसानलाई उत्पादनसँग जोडका लागि खाँदबारीले यस्तो योजना ल्याएको हो ।
अन्तरपालिका सहकार्य गरेर खाँदबारी नगरपालिकाले कुनै काम गरेको छ ?
हाम्रो भौगोलिक कारणले गर्दा धेरै पालिकासँग मिलेर अन्तरपालिका सहकार्य गर्न संभव प्राय छैन् । खाँदबारीमा योगमाया विश्वविद्यालय छ । यसलाई व्यवस्थित गर्न र जग्गा प्राप्त गर्न अहिले हामीहरु लागि परेका छौं । यस कार्यमा अन्य अन्यपालिका पनि मिलेर योगमाया विश्वविद्यालयलाई थप व्यवस्थित गर्न सकिन्छ यस कार्यमा अन्तरपालिका सहकार्य गर्न सकिने संभावना छ ।