काठमाडाैं । आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘डिसेम्बर फल्स’को नयाँ गीत सार्वजनिक गरिएको छ । यो फिल्म पुस १५ गते अर्थात आगामी शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । शनिबार सार्वजनिक ‘यो के भयो’बोलको गीतको उक्त भिडियोमा आर्यन र उपासना रोमान्टिक रुपमा प्रस्तुत भएका छन् । कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । सुशान्त गौतम र अनिल शर्माको शब्द, सुशान्त गौतमको संगीत रहेको गीतमा अस्मिता अधिकारी र मनिष ढकालले स्वर दिएका छन् । प्रविण झाको निर्देशन रहेको ‘डिसेम्बर फल्स’ लभस्टोरी र एक्सन जनरामा निर्माण भएको फिल्म हो ।
आर्यन र उपासनाका साथमा फिल्ममा सलोन बस्नेत, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, नरेश भट्टराई, शिशिर राणा लगायतको पनि अभिनय छ । विपिका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा एवं संवाद रहेको फिल्ममा रामप्रसाद रिजाल प्रस्तुतकर्ता एवं निर्माता छन् । राज कुमार भट्ट पनि निर्माता रहेको फिल्ममा लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता छन् ।
महेश आर गुप्ताको छायाँकन रहेको यस फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् । ‘डिसेम्बर फल्स’ आर्यन र उपासनाको पहिलो सहकार्य हो । ‘महापुरुष’यता नेपाली फिल्मले हलमा दर्शक पाउन नसकिरहेको अवस्थामा ‘डिसेम्बर फल्स’बाट भने ठूलो अपेक्षा गरिएको छ ।