इरान । इरानमा सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा चर्चित अभिनेत्री तारानेह अलीदोस्ती पक्राउ परेकी छन् । इरानको सरकारी सञ्चारमाध्यम इरनाका अनुसार विरोध प्रदर्शनलाई लिएर भ्रम फैलाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
गत हप्ता तारानेहले हिजाब विरुद्धको विरोध समर्थनमा इन्स्टाग्राममा एक पोस्ट गरेकी थिइन् । उनले इन्स्टाग्राममा हिजाबबिनाको आफ्नो तस्वीर राखेकी थिइन् । आन्दोलनमा संलग्न भएको भन्दै मोहसेन शेकरी नामका व्यक्तिलाई दिइएको मृत्युदण्डको उनले आलोचना गरेकी थिइन् ।
शेकरीरीलाई ‘दंगा’ फैलाएको आरोपमा फाँसी दिइएको थियो । उनले राजधानी तेहरानको एक मुख्य सडकमा अवरोध गरेका थिए र अर्धसैनिक बलका एक जवानलाई घाइते बनाएका थिए । ३८ वर्षीया तारानेह ओस्कार विजेता चलचित्र ‘द सेल्सम्यान’ को अभिनयका लागि प्रख्यात छिन् । हाल तारानेहको ८० लाख फलोअर्स भएको इन्स्टाग्राम अकाउन्टमा प्रतिबन्ध लगाइएको छ ।