भाला रोपेर १ वर्षे शिशुलगायत ९ जना चौकीका प्रहरीलाई मारेको हो कि हैन ? यसरी नृशंस मार्नु राजनीति हो ? यो सही राजनीति हो भने सजाय भोग्न किन नमान्ने ? सही राजनीतिक सिद्धान्तमा लागेकाहरू गिडगिडाउदैनन्, अदालती पहल गर्छन् । नेल्सन मण्डेला गिड्गिडाए ? बिपी गिड्गिडाए ? शहिद गंगालाल, धर्मभक्तहरू गिड्गिडाए ? अन्यायका विरूद्ध न्यायका लागि लड्नेहरू स्वाभिमानी हुन्छन् । बलिदान गर्छन् । आफ्नो कर्मको नतिजा भोग्न तयार रहन्छन् मैले के गर्दै छु र यसको नतिजा के हुन्छ पहिल्यै बुझेर लागेका हुन्छन् ।
तर गिड्गिडाउदैनन्। अपराधीहरू हो गिड्गिडाउने, किनभने म गलत बाटोमा छु भन्ने तिनको मनमा भय चलिरहेको हुन्छ । त्यसलाई क्रान्ति वा राजनीतिको गुलियो जलप लगाएर कानुनलाई दुरूपयोग गरेर जोगिन खोज्छन् । भोलि पनि यस्ता घटना हुनेछन्, भोलि पनि यस्ता राजनीति हुनेछन् सबैलाई माफी दिदै हिड्ने ? कहिलेसम्मको अपराधलाई राजनीति मान्दै माफी दिने ? यो अनन्तसम्म चलिरहन्छ, अनन्तकालसम्म हत्याको राजनीतिलाई छुट दिईरहने? कटअफ डेट कुन हो र कसले त्यो डेट तय गर्ने ?
राजनीतिमा हत्या हिंसालाई सभ्य समाजले स्विकार्दैन, लोकतन्त्रले झन स्विकार्दैन । करनीको भरनी हुन्छ, छलछाम गरेर कानुन हातमा लिएर जोगिन सकिदैन, कतै न कतै फन्दामा पारीछाड्छ । हिजोको उदाहरण आज लागू गर्न सकिदैन ।
(सरकारका पूर्व सचीव भीम उपाध्यायकाे फेसबुकबाट)