काठमाडौं । जेनजी प्रदर्शनका क्रममा ७६ जनाको मृत्यु भएको र तीमध्ये २२ मात्रै प्रदर्शनकारी भएको नेपाली सेनाले जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेनाको युद्ध कार्य विभाग प्रमुख उपरथी अनुपजंग थापाले आन्दोलनका कारण २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी, १० जना कैदी र ४१ जना अन्य व्यक्तिको मृत्यु भएको जानकारी दिए।
भदौ २३ गतेको प्रदर्शनमा नयाँ बानेश्वरमा १९ र इटहरीमा २ जना प्रदर्शनकारीको प्रहरीले गोली चलाउँदा मृत्यु भएको थियो।
सेनाले सार्वजनिक गरेको विवरणअनुसार आन्दोलनका क्रममा देशभर ६८८ सरकारी कार्यालयमा क्षति पुगेको छ। साथै २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक पार्टी कार्यालय र ३०७ प्रहरी कार्यालय तोडफोडमा परेका छन्।
उक्त घटनाक्रममा विभिन्न कारागारबाट १५,५८८ जना कैदीबन्दी फरार भएका थिए, जसमध्ये हालसम्म ८,७९९ जना मात्र फिर्ता भइसकेका छन्।
त्यस्तै, ९७८ थान हातहतियार लुटिएका वा हराएका मध्ये ५८६ थान मात्र फिर्ता गरिएको पनि सेनाले जनाएको छ।