काठमाडौं । कीर्तिपुर नगरपाकिलाले तह बृद्धिका लागि निवेदन दिन सार्वजनिक सूचना जारी गरेको छ । बागमती प्रदेश सरकारबाट जारी भएको स्थानीय सेवा ( गठन तथा सञ्चालन) अध्यादेश २०७९ को दफा ३० भएको व्यवस्था अनुसार तह बृद्धिको लागि आवश्यक योग्यता पुगेका स्थानीय सेवाका कर्मचारीलाई निवेदन पेश गर्न नगरपालिकाले सूचना जारी गरेको हो ।
जारी सूचनामा नगरपालिका मातहतका निकायमा कार्यरत स्थानीय सेवाका कर्मचारीहरुले स्तर बृद्धिका लागि निवेदन साथ आवश्यक कागजात सहित सूचना प्रकाशित मितिले ३० दिनभित्र नगरपालिकाको कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ । नगरपालिकाको २०७९ मङ्सिर ८ गतेको निर्णय अनुसार गर्न सरोकारवाला सबैका लागि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद बाँस्कोटाद्धारा हस्ताक्षरित जारी सूचनामा उल्लेख गरिएको छ ।
तह बृद्धि हुने पद भन्दा एक तहमुनिको पदमा पाँच वर्ष सेवा अवधि पुगेको खुल्ने कागजात, तह बृद्धिका लागि अध्ययादेशमा तोकिए बमोजिमको शैक्षिक योग्यता हासिल गरेको प्रमाणपत्रको प्रतिलिपि, पछिल्लो पाँच वर्षको कार्य सम्पादन मूल्याङ्कन फारम लगायतका कागजात पेश गर्नुपर्नेछ । तोकिएको समयभित्र निवेदन प्राप्त नभए र रित नपुगेको निवेदन उपर कुनै कारवाहि नहुने जारी सूचनमा उल्लेख गरिएको छ ।