दोहा । फिफा विश्वकप २०२२ मा साउदी अरेबियाको ऐतिहासिक जित हासिल गर्न सफल भएको छ । दुई पटकको फिफा विश्वकप च्याम्पियन अर्जेन्टिनालाई हराउदै साउदी अरेबियाको ऐतिहासिक जित हासिल गर्न सफल भएको हो ।
पहिलो हाफमा लिएको १–० को अग्रता जोगाउन नसक्दा अर्जेन्टिना ३२ वर्षपछि विश्वकपको पहिलो खेलमा नै पराजित हुनुपरेको छ ।
मंगलबार भएको समूह ‘सी’ को खेलमा अर्जेन्टिनालाई एसियन टिम साउदी अरेबियाले २–१ गोलले हराएको छ । साउदीले खेलमा पछि परेको स्थिति उल्टाउँदै उत्कृष्ट जित निकालेको हो ।
लुसेल रंगशालामा १०औं मिनेटमा लियोनेल मेसीले गोल गर्दै दक्षिण अमेरिकी महारथीले अग्रता लिएको थियो । कप्तान लिओनल मेसीले प्राप्त पेनाल्टीमा सहज गोल गरेका थिए ।
मेसीले चार विश्वकपमा गोल गर्ने अर्जेन्टाइन खेलाडीको रेकर्ड बनाएको खेलमा उनको टिम पहिलो हाफमा १–० गोलले अघि थियो ।
पहिलो हाफमा अर्जेन्टिनाले तीन पटक बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषित गरेका थिए ।
साउदी अरेबियाले दोस्रो हाफको पाँच मिनेटको अन्तरमा दुई गोल गरेको हो । खेलको ४८ मिनेटमा सलेह अलशेरीले बराबरी गोल फर्काए । ५३ मिनेटमा सलेम अलडावसरीले डिबक्स बाहिरबाट सेकेन्ड बार च्याप्दै उत्कृष्ट गोल गर्दै साउदीलाई २–१ ले अघि बढाएका थिए ।
फिफा वरीयतामा ५१औं स्थानमा रहेको साउदीले तेस्रो वरीयताको अर्जेन्टिनालाई हराउने क्रममा दोस्रो हाफमा उत्कृष्ट खेलेको थियो ।
पहिलो खेलमै पराजित भएपछि सन् १९८६ पछि पहिलो विश्वकपको उपाधिको खोजीमा रहेको अर्जेन्टिना दबाबमा परेको छ। साउदीले अर्जेन्टिनालाई हराएसँगै विश्वकप इतिहासमा एक चर्चित जित निकाल्न सफल भएको छ ।
अर्जेन्टिना २८ वर्षअघि सन् १९९० मा इटालीमा भएको विश्वकपमा क्यामरुनसँग पहिलो खेलमै पराजति भएको थियो ।
साउदी अरबले भने हालसम्म विश्वकपमा सबैभन्दा ठूला टिमविरुद्ध जित हासिल गरेको छ । यसअघि सन् १९९४ मा अमेरिकामा भएको विश्वकपको समूह चरणमै युरोपेली प्रतिद्वन्द्वी बेल्जियमलाई १–० गोलको नतिजामा पराजित गरेको थियो ।
योसँगै अर्जेन्टिनाको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । पहिलो हाफमा अर्जेन्टिनाको गोल अफसाइड भन्दै रद्द भएको थियो ।