मुम्बई । तेलुगु सिनेमाका पहिलो सुपरस्टार कृष्णा बाबु (शिव रामा कृष्ण घट्टामानेनी) को हृदयघातका कारण ७९ वर्षको उमेरमा निधन भएको छ । मंगलबार निधन भएका उनको बुधबार दिउँसो राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ । कृष्णा बाबु तेलुगु सुपरस्टार महेश बाबुका पिता हुन् ।
करिब पाँच दशकमा कृष्णा बाबुले ३ सय ५० भन्दा बढी चलचित्रमा काम गरेर कीर्तिमान बनाएका थिए । उनले सबैभन्दा छिटो दुई सय चलचित्र गर्ने कीर्तिमान राखेका छन् । साथै एउटै अभिनेत्रीसँग ४८ वटा चलचित्रमा काम गर्ने कीर्तिमान राखेका छन् । अभिनेता कृष्णाले आफ्नी दोस्रो पत्नी विजयासँग मिलेर यो कीर्तिमान बनाएका हुन् । यससँगै उनले जया प्रदासँग ४७ वटा चलचित्रमा काम गरेका थिए । यसरी ९५ चलचित्रमा उनको दुई मात्रै नायिका थिए ।
अभिनेता महेश बाबु र उनकी श्रीमती नम्रता शिरोडकर लगायत घट्टमानेनी परिवारले सामाजिक सञ्जालमा जिएमबी इन्टरटेनमेन्टको तर्फबाट एक पोस्ट सेयर गर्दै सुपरस्टार कृष्णाको निधनको जानकारी दिएका छन् । सार्वजनिक पोस्टमा लेखिएको छ, ‘अत्यन्तै दुःखका साथ, हामी तपाईंलाई हाम्रा प्रिय कृष्णाजीको निधनको बारेमा जानकारी दिन्छौँ । उहाँ फिल्मी पर्दाभन्दा धेरै अर्थमा सुपरस्टार हुनुहुन्थ्यो । आफ्नो कामको माध्यमबाट उहाँले धेरै पात्रहरू निभाउनु भएको छ । उहाँले हामीलाई कुनै पनि कुराभन्दा बढी माया गर्नुभयो र हामी उहाँलाई प्रत्येक बितेको दिनको साथ झन् धेरै याद गर्नेछौँ । उहाँ सधैँ भन्नुहुन्थ्यो– अलबिदा सधैँको लागि हुँदैन, जबसम्म हामी फेरि भेट्दैनौँ ।’
अभिनेता कृष्णाको निधनको खबरले सिंगो भारत शोकमा डुबेको छ । सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत देशभरका सेलिब्रेटीले दिवंगत अभिनेता कृष्णालाई श्रद्धाञ्जलि दिएका छन् । अभिनेता कृष्णाको सम्झना गर्दै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा शोक व्यक्त गर्दै पोस्ट सेयर गरेका छन् । उनले लेखेका छन्, ‘कृष्णा जी एक महान् सुपरस्टार हुनुहुन्थ्यो, जसले आफ्नो अभिनय र जीवन्त व्यक्तित्वले जनताको मनमा राज गर्नुभयो । उहाँको निधनले सिनेमा र मनोरञ्जन क्षेत्रलाई ठुलो क्षति पुगेको छ । दुःखको यस घडीमा महेश बाबु र उहाँको परिवारसँग हाम्रो समवेदना छ । ओम शान्ति !’
अभिनेता कृष्णाको निधनले दक्षिण भारतीय चर्चित अभिनेता रजनीकान्त स्तब्ध भएका छन् । उनले ट्विट गर्दै लेखेका छन्, ‘कृष्णाको निधन तेलुगु सिनेमा उद्योगका लागि ठुलो क्षति हो । मैले उहाँसँग ३ वटा फिल्ममा काम गरेँ, जुन निकै यादगार थिए । म ती सम्झनाहरू सधैं सम्झिरहनेछु । उहाँको परिवारमा मेरो समवेदना । उहाँको आत्माले शान्ति पाओस् ।’
अर्का चर्चित भारतीय अभिनेता कमल हसनले सामाजिक सञ्जालमार्फत कृष्णाको निधनमा शोक व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘तेलुगु फिल्म उद्योगका आइकन कृष्णा रहेनन्, उनको निधनले एक युगको अन्त्य भएको छ ।’