काठमाडौं । पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपियाँ १६ पैसा बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नोभेम्बर १६ मा पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य बढेर आएको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ भएका कारण पेट्रोलको मूल्य बढेर र डिजेलको घटेर आएको निगमले जनाएको छ ।
डिजेलको मूल्य भने प्रतिलिटरमा एक रुपियाँ ३० पैसा घटेर आएको निगमले जनाएको छ । यो नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपियाँ ७६ पैसा नाफा हुने अनुमान गरिएको छ । अघिल्लो पटक पेट्रोलमा १३ रुपियाँ ९२ पैसा नाफा रहेको थियो। यस्तै डिजेलमा यसअघि १२ रुपियाँ १३ पैसा घाटामा रहेकाले अझै डिजेलमा प्रतिलिटर १० रुपियाँ ८३ रुपियाँ घाटा रहने निगमले जनाएको छ ।
निगमका वितरण विभाग प्रमुख वीरेन्द्र गोइतले निगम अहिले ब्रेक इभन (न नाफा न घाटा)को अवस्थामा रहेको जानकारी दिए । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ ।