काठमाडौँ । शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘ह्रस्व दीर्घ’को दोस्रो गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक ‘भगवान नै आमा हुन्’ बोलको गीत मर्मस्पर्शी सुनिन्छ। सार्वजनिक गीतमा आमाको महिमा वर्णन गरिएको छ ।
मंगलबार सार्वजनिक मर्मस्पर्शी गीतले सिनेमाप्रति दर्शकको कौतुहल्ता अझै बढाउने देखिन्छ। सत्यराज आचार्यको गायन तथा बाबुल गिरीको शब्द रचना र संगीत छ । सन्तानका लागि एक आमाले गर्ने संघर्ष, त्याग र समर्पणको भाव गीतमा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा अभिनेत्री विपना थापालाई आमाको रुपमा चित्रित गरिएको छ । उनको अभिनय मनछुने लाग्छ । एक समयकी सफल अभिनेत्री विपनाले ‘ह्रस्व दीर्घ’बाट १३ वर्षपछि नेपाली रजतपटमा कमब्याक गरेकी हुन् ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन्। सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।