वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्यालदिमिर पुटिनका कारण विश्वभरी मुल्य वृद्धि भएको आरोप लगाएका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि तेल र ग्याँसको मुल्य बढेको र त्यसले अन्य क्षेत्रमा पनि मुल्य वृद्धि भएको उनको भनाइ छ ।
विश्वभरी अहिले मूल्य वृद्धि भएको र कतिपय देशमा ऊर्जा, खाद्यपदार्थलगायतको अभावसमेत भएको उल्लेख गर्दै उनले त्यसको दोषी पुटिन नै भएको आरोप लगाए । उनले भने, ‘रुसले युक्रेनमाथि आक्रमण गरेको ३८ दिन भइसक्यो । आक्रमणको असर दिनप्रति दिन विश्वभरी फैलिँदै गएको छ । रुसको आक्रमणले युक्रेनमा मात्र नभइ विश्वभरी नै हानी गरेको छ ।’
अमेरिकी राष्ट्रपतिले मुल्यवृद्धि घटाउन पनि पुटिनले भूमिका खेल्नुपर्नेमा जोड दिँदै मुल्य नघटेमा त्यसको दोषी पुटिन नै हुने टिप्पणी गरे । ‘यो मुल्यवृद्धि अझै कहाँसम्म पुग्ने हो भन्ने कुरा अनुमान लगाउन नसकिने अवस्था छ,’ सामाजिक सञ्जाल ट्वीटरमा उनले ट्वीट गरेका छन् ।
आफुले दिएको सुझाव र आग्रहलाई पुटिनले वेवास्ता गरेकाले विश्वलाई नै असर पर्ने काम भइरहेको उनको आरोप थियो । राष्ट्रपति वाइडेनले तत्काल युद्ध रोक्न र वार्तामार्फत विवाद अन्त्य गर्न पटकपटक आग्रह गर्दै आएको पनि स्मरण गराए ।