काठमाडौं । उच्च हिमाली भेगमा पाइने हिमचितुवालाई नेपाल प्रिमियर लिग (एनपीएल)को मस्कट बनाइएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले लिगको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा हिमचितुवालाई मस्कटको रूपमा सार्वजनिक गरेको हो ।
क्यानको आयोजनामा हुन लागेको प्रतियोगिताको पहिलो संस्करण शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो संस्करणमा कुल आठ टिमले सहभागिता जनाउँदै छन् । जसमा विराटनगर किंग्स्, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा शनिबार विराटनगर किंग्स् र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुने तालिका छ । प्रतियोगिता पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।