दीपक विश्वकर्मा । लक्षमा पुग्ने ब्यग्रता, कार्यप्रतिको समर्पण, लगनशीलतालाई भूतसवार हुनुको अर्थमा चित्रण गरिन्छ । ममा धन कमाउने ब्यग्रता थियो । समयसिमा भित्र धन कमाएर सकेसम्म छिटो बालाई नेपाल फर्काउने र आफुले पार्टीसँग गरेको बाचाको मान राख्ने मेरो महान् अठोठ थियो । नङ्पो पुगेको केही दिनमै मकैबारीबाट बाको आरनलाई उठाएर नङ्पोबजारमा ल्याउनु, बाको कामलेमात्र पारपाउने छाँट नदेखेर हातेतानको बन्दोबस्त गरी नागा च्यादरको उद्योगको सपना देख्नु, त्यसबाट समेत नदी तरिने मेलोमेसो नजुरेपछि कृषि औजार उद्योगको सपनाको सिरानीमा अडेस लगाएर आकाशका तारा गन्नु आदि ममा भूत सवार हुनुका लक्षणहरु थिए । ममा भूत यसहिसाबले सवार थियो कि तुरुन्तातुरुन्तै आरनमा औजार आइपुगुन्, वेल्डीङ मेसिन, टेबलग्रेन्डर, बिजुलीबाट चल्ने पंखा कारखानामा सजिउन, आठदशजना कामदारले बिहानदेखि बेलुकीसम्म अनवरत काम गरुन्, हरेकदिन केजी होइन क्विन्टलका हिसाबले औजार उत्पादन होउन, उत्पादित ती औजारहरु साप्ताहिक हाटबजारमा बिक्री होउन, बर्निहाटदेखि सिलाङसम्मका पसलहरुमा हाम्रो उद्योगबाट उत्पादित औजारहरुमात्र सजिउन र हाम्रो मनको तिजोरी धनैधनले भरिभराउ होस् ।
दाजु रणबहादुर क्षेत्रीले नङ्पोस्थित स्टेट बैक अफ इन्डियाको शाखामा लगेर त्यहाँका मेनेजरसँग चिनापर्ची गराइदिनु भयो । मेरो बारेमा केहि बढाइचढाइ पनि गर्नुभयो उहाँले । लामो समयदेखि मकैबारीमा बसेर कृषि औजारको उत्पादन गरेको, पिताजी खुद कुशल कारिगर भएको, नेपाल छँदा ग्रील निर्माण सम्बन्धी राम्रो अनुभव आर्जन गरेको, आइ.ए.सम्म शिक्षा प्राप्त गरेको आदि आदि । यो आइ.ए. भन्ने थेगो हमेसै मेरो मुखमा झुन्डिएको हुथ्यो । नेपाल छँदै कतै सुनेको थिएँ, आइ.ए.मा भर्ना भएपछि सो लेभल भला पास नगरिएको होस् उक्त पदवीलाई मानिसहरुले प्रयोग गर्ने गर्दछन् । महत्वहिन बुजुवा शिक्षालाई लात मारेर राजनीतिको चक्रब्यूहमा फसि अनमोल चारवर्ष खेर फालेको भएता पनि मनबाट भने बर्जुवा शिक्षाको सानलाई पखाल्न सकेको थिइन । एकातिर मिसनको छात्रबृत्ति त्यागेर बुर्जुवा शिक्षा बहिष्कारको नाममा जनताको विश्वविद्यालयमा सामाजिक, राजनीतिक, सांस्कृतिक अध्ययनको नाटक गर्नु अर्कोतिर क्याम्पस भर्ना भएको नाममा आइ.ए.पढेको छु भन्दै हिड्नु, आफैमा बिरोधाभाषपूर्ण कुरो थियो ।
तत्कालिन नेकपा(माले)ले पार्टी सदस्यता दिने बेलामा मेरो नाम हेमन्त जुराइदिएको थियो । यो नाम पार्टीको आन्तरिक जीवनमा मात्र प्रचलनमा आउने हुनाले मेघालय पसेपछि मेरो पार्टीको सांगठनिक गतिविधिमा सक्रियता हराएर गएसँगै हेमन्तले पनि हावा खायो । मेरो स्कुलको नाम छविलाल भएता पनि यो नामसँग मेरो कहिल्यै लगाव रहेन । छविलाल शब्द सुन्दैमा बहुतै पुरानो आदिम जमानाको सम्बोधनकृत जडशब्द लाग्थ्यो मलाई । जब हामी जोइपोइ क.हेमन्तलाई पोखरामै बिसाएर बिजयपुर पुल पारगर्दै दुलेगौंडा, आबुखैरेनी, मुग्लिनहुँदै नारायण पुगेर पहिलो प्रवासी रात वितायौं, म छविलाल उर्फ हेमन्तबाट रविन्द्र विश्वकर्मा भइसकेको थिएँ ।
आदरणीय दाजु रणबहादुर क्षेत्रीले एङ्लो इण्डियन बैंक मेनेजरसँग रविन्द्र विश्वकर्माको गहकिलो परिचय गराइदिनु भयो ।
बैंक मेनेजरसँग रणबहादुर दाइले अंग्रेजी भाषामा लामो कुराकानी गर्नु भएको थियो । यो एङ्लो इन्डियन भनेको चाहिँ भारतीय आमा र अंग्रेजी बाबुको सम्बन्धबाट जन्मेका छोराछोरीको सन्दर्भमा लागु हुँदोरहेछ । ती बैंक मेनेजर पनि आमा खसिया र बाबु अंग्रेजबाट जन्मिएका रहेछन् । उनको सानदार ब्यक्तित्वलाई आजसम्म पनि मैले बिर्सन सकेको छैन । छ फुटभन्दा अग्लो ज्यान, तदनुसारको शारीरिक बनोट, गहुँगारो उज्यालो चेहरा, ओजनदार आवाज, बिचित्रको ब्यक्तित्व थियो उनको । केहि समयको भलाकुसारी पछि उनले हामीलाई विदा गर्दै मलाई अर्को दिन आएर अफिसमै भेट गर्नसक्ने सल्लाह दिए ।
अर्को दिन बैंकमा भेट गर्नसक्ने सानो सल्लाहले पनि बादलको घेरामा चाँदीको घेराको आभाष भयो मलाई । उनको त्यो सानो उद्गारले पनि मेरो ज्यानमा बेग्लै फुर्ति पलाउन पुग्यो । दाइ र हाम्रो आरन कम बसाइको दुरी लगभग पचाससाठी मीटरको फरकमा थियो । मेनेजरबाट बिदा भएर निस्किएपछि दाइ नङ्पोबजारतिरै अल्मलिनु भयो । मभने छिनभरमा बासमा आएँ र अनिताजीलाई बैंक मेनेजरले ऋण दिन इन्कार नगरेको, भोलिपल्ट आएर भेट गर्ने सल्लाह दिएको कुरो एक सासमा सुनाएँ । यो अर्ध खुशीको कुरो बालाई सुनाउन भने मन लागेन । किन मन लागेन ? म संझन सक्दिन आज ।
सो रातको सपनाको सिरानी बहुतै नरम लागेको थियो मलाई । बैंकबाट ऋण लिने, गुवाहाटी पुगेर औजारको जोरजाम गर्ने, सिलाङ वा आसपासका गाउँठाउँमा पुगेर कामदारको खोजी गर्ने, सामानको उत्पादन गर्ने र सप्लाइको कारोवार गर्ने, मनग्गे घन कमाउने र बोराकाबोरा धन पेँगाका (धुर्कोट पनि हुनसक्छ) हरि पाण्डेले जस्तै जीप गाडीमा भराएर भाडगाउँ पु¥याउने । अहो ! त्यो रात यति सपना बुनियो कि ती सपनाहरुलाई आलेखकोरुपमा उतार्ने हो भने एक मनमोहक उपन्यास तैयार गर्न सकिन्छ । नढाँटी भन्ने हो भने सोमशर्माको हाँडी फुट्नुभन्दा पहिलेको सौर्यसपना जस्तै थियो त्यो, बैंक मेनेजरको आश्वासन पछिको मेरो पहिलो रातको सपना ।
अर्को दिनको बिहान मलाई सधैंको जस्तो लागेन । केहि उज्यालो, केहि सिर्सिराउँदो, केहि चम्काइलो र मनको कुनामा कताकता मिठासको गुदगुदी भएजस्तो भान भइरहेको थियो मलाई । भनिन्छ, प्रतिक्षाको घडी निकै लामो र पट्याइलो हुन्छ । मलाई पनि हर पल हर घडी पहाडजस्तो लागिरहेको थियो । कतिबेला दश बज्ला र बैंक पुँगुला, कुरोलाई अगाडि बढाउँला, आवश्यक कागजपत्र तैयार गरुँला, मनको बहिखातामा चाँग लागेर योजना माथि योजना बन्दै थिए मेरा ।
प्रतिक्षाको घडी समाप्त भयो । घडीको सुइले आखिरमा दश पनि बजाइ नै छाड्यो । मैले त नौ बजेको आसपासमै भोजन गरेर बसेको थिए । पकेटमा एकथान कलम, नागा च्यादरको सपना बुन्ने बेलामा आफैले बुनेको ऊनीको झोलामा एउटा कापी बोकेर म साधु महाजनको रेखा होटेललाई पार गरेर बैंकको दरबाजा खटखटाउन पुगिहाले सवा दशको आसपासमा ।
मेनेजर अफिसमा आइपुगेका थिए वा थिएनन्, आज मैले यकिनकासाथ भन्न सक्दिन । किनकि यो त्यो जमानाको कुरो हो, जुन बेला म राम्रोसँग फक्रिसकेको नै थिइन । तर मलाई मेनेजरलाई भेटगर्न लामोसमय प्रतिक्षा गर्नु नपरेको भने बेस्सरी संझना छ । मलाई आफ्नो कार्यकक्षमा बोलाए पश्चात अंग्रेजी मिश्रित हिन्दी भाषामा ऋण प्राप्त गर्न चाहिने कागजपत्रहरुको बेलिबिस्तार लगाएका थिए उनले । स्थायी बसोवासको कागज चाहिने, नङ्पो इलाका प्रशासनबाट उद्योगको लाइसेन्स लिनु पर्ने, उद्योग खोलिने जग्गाको मालिकसँग संझौता गर्नु पर्ने लगायत कुराहरु बताउँदै प्रथमतः बैकमा खाता खोल्नु पर्ने भने उनको पहिलो सर्त थियो । मजस्तो नितान्त नौले र केटौले मान्छेलाई पनि ती बैंक मेनेजरले यतिबिघ्न प्राथमिता दिनुको खास कारणभने रणबहादुर दाइ हुनुहुन्थ्यो । जसको नङ्पोमा मात्र होइन, सिलाङमा समेत नाम चलेको थियो ।
सम्झनाको तरेलीमा एउटा कुरा आजसम्म पनि जस्ताको तस्तै रहेकोछ । हाम्रो गाउँकै बुढाथोकी थरका एकजना बा मेघालय राज्य विद्युत विभागमा लाइनमेनकोरुपमा स्थायी नोकरी गर्नुहुँदो रहेछ । उहाँको बासँग गहिरो दोस्ती थियो । बाभन्दा जेठा हुनुहुन्थ्यो उहाँ । एकदिन बाले मलाई साथमा लगेर उहाँसँग चिनापर्ची गराएका थिए । त्यो जानपहिचानले मेरो आत्मविश्वासलाई केहि माथि पु¥यायो । यद्यपि दुःख, बिमार आइपर्दाको बखत काँध थाप्न दाजु मोति पाण्डे हुनुहुन्थ्यो । भाउजुले पनि हामी बुढाबुढीलाई आफ्नै भाइबहिनीलाई जस्तै माया गर्नु हुन्थ्यो । नङ्पो बसोबास गर्ने तमाम नेपालीहरुसँग पनि हाम्रो जानपहिचान फैलिदै थियो । दाजु रणबहादुर क्षेत्री त एकाघरकै दाजुभन्दा बढी हुनुभयो । अनिताजीलाई पोखरामै छोडर पहिलोपटक बाको खोजिमा नङ्पो जाँदा उहाँहरुकै घरमा हप्तादश दिन बसेको थिएँ म । तर पनि प्रदेशमा एउटै गाउँको मानिस भेटिदाँको आफ्नोपन बिछट्टको हुँदो रहेछ । “माइलाले भन्दैथ्यो, केटा ! तैले त धेरै पढेओछस् रे । यत्रो पढेओ गुनेओ मान्छे यो प्रदेशा के खान आइस् त ?” एकहिसाबले बुढाथोकी बाको कुरा ठिकै थियो । तर, सिस्नोको पोलाइ, मनमनै भनेजस्तै, म, मेरो घरको हालत, भाइबहिनीलाई एक्ली आमाको जिम्मामा छोडेर प्रदेशिएका बाको लापर्वाहपूर्ण कहानी, कृषि विकास बैकमा घरबारी धितो राखेर निकाएिको ऋणको साँवाब्याज, माने नेवार, चिदीचौरे बस्नेत्नी साहुनीको चक्रवर्ती सावाँब्याजको सिस्नेपोलाइबाट म जति प्रताडित थिएँ, ती सबै कुराहरु बुढाथोकी बालाई सुनाउने बताउने कुरो पनि भएन ।
बुढाथोकी बाको कटाक्षमा उँधोमुन्टो लगाएर जवाफ दिएको थिएँ— बा हराए भनेर खोज्न आएको हुम् बा । बालाई भेटाएँ । राम्रैसँग बसेका रहेछन् । अब बाटोखर्च बनाएर फर्किने हो उतै । कृषि औजार उद्योगको उखर्माउलो सपना उहाँलाई सुनाइन ।
बैंक मेनेजरको पहिलो सर्तमुताविक बैंकमा खाता खोल्न पटक्कै ढिलो गरिन मैले । खाता खोल्दा परिचित ब्यक्तिको हैसियतले रणबहादुर दाइले सही गरिदिनु भयो । बनावटी नै सही, भारतीय स्टेट बैंकमा मेरो नाम दर्ज भयो— रविन्द्र विश्वकर्मा ।
२०७९ भाद्र ३०
बुटवल