सिन्धुपाल्चोक । सिन्धु अमेरिका सोसाईटीले सिन्धुपाल्चोकबाट २०७८ को एसईइ परिक्षामा उत्कृष्ट अंक ल्याउने एक छात्र र छात्रालाई नगदसहित सम्मान गरेको छ । सोसाईटीले जनही ५१ हजार रुपैयाँसहित उत्कृष्ट अंक ल्याउने बालशिक्षा माध्यमिक बिद्यालयकी छात्रा दिक्षिका पराजुली र सदावहार एकेडेमीका रामकृष्ण विकलाई सम्मान गरेको हो ।
उनीहरुलाई एक कार्यक्रमकाबीच सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमवहादुर बस्नेत (राजकुमार) को हातबाट सम्मान गरिएको हो । बिद्यार्थीलाई सम्मान गर्दै अध्यक्ष बस्नेतले लगनशीलताले बिद्यार्थीलाई सही नतिजा ल्याउन सहयोग गर्ने बताउँदै सम्मान गर्ने संस्थाप्रति बिपन्न परिवारको आस्था बढेको बताए । सोही अवसरमा सोसाईटीको छात्रबृत्तिमा अध्ययन गरेर १२ कक्षा उतीर्ण गरेका बिद्यार्थीलाई प्रशंसा पनि गरिएको थियो । १२ कक्षा उतिर्ण भएकी बिन्दा विकले सोईईटीको सहयोगमा स्तरीय शिक्षा प्राप्त गर्न पाएकाले आफू सक्षम वनेको बताइन् ।
सोसाईटीका संस्थापक अध्यक्ष बंशलाल तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा समन्वय प्रमुख कृष्णप्रसाद सुवेदीले यस किसिमको कामले बिद्यार्थीको हौसला बढ्ने बताए ।
सोसाईटी अध्यक्ष सूर्यबहादुर खड्काले आफू जन्मेको ठाउँ छोडेर अन्यत्र पुगेपनि जन्मस्थानको सेवा गर्ने पनि उद्देश्य भएको बताए । उनले भने, ‘संस्थामा आवद्ध सदस्यहरुको लागि परेको समस्या पनि पहिचान गरेर सहयोग गर्दै आएका छौ. ।’
सिन्धु अमेरिका सोसाईटी सिन्धुपाल्चोकमा जन्मिएर अमेरिकामा बसोबास गर्नेहरुको संस्था हो । सिन्धु युएसए वेलफेयर सोसाईटी अमेरिका । जसले सिन्धुपाल्चोकका बिभिन्न भेगका अतिबिपन्न १६ बिद्यार्थीलाई निजी बिद्यालयमा निःशुल्क पढाउने व्यवस्था गरेको छ । युद्धका बेला पीडित बनेका तथा असाहय बिद्यार्थी मध्ये तीन जनाले कक्षा १२ उतीर्ण गरिसकेका छन् ।
शैक्षिक बिकासका साथै बिपत्तिमा पनि सोसाईटीको योगदान छ । सोसाईटीले जुरेपहिरोमा परेका वनसाँघू माविको बिद्यालय भवन निर्माण गरिदिएको छ ।
सिन्धुपाल्चोक जिल्लाबाट अमेरिका पुगेका सन् २०१० मा यो संस्था स्थापना भएको हो ।