काठमाडाैँ । विश्व बैंकले नेपाललाई पुल सुधार तथा मर्मत कार्यक्रमको तेस्रो चरणका लागि करिब २० अर्ब ७९ करोड रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ । २ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकले दिने उक्त सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ । बैठकले दक्षिण कोरिया सरकारले बर्दियामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि दिने करिब १ अर्ब ८ करोड ८० लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
यस्तै, बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि उपलब्ध हुने करिब २९ अर्ब ७२ करोड रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने पनि निर्णय गरेको छ ।
यस्तै, वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश डा. शान्ता सेढाई सापकोटालाई तोक्ने र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुंगानालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव पदमा सरुवा गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले १६ देखि २१ असारसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि गरेको मन्त्री गुरुङले जानकारी दिए । यसैगरी, सरकारको नाममा दर्ता रहेको १० रोपनी जग्गा १५ शय्याको अस्पताल निर्माण गर्न तनहुँको आँबुखैरेनी गाउँपालिकालाई प्रयोग गर्न दिन स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।