कीभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससंग आफुले शान्ति वार्ता चाहेको बताएका छन् । युक्रेनी प्रतिनिधिमण्डलले रुससँगको नयाँ चरणको वार्तामा शान्ति खोजिरहेको राष्ट्रपतिको प्रेस सेवाले सोमबार उल्लेख गरेको छ । ‘हाम्रो लक्ष्य स्पष्ट शान्ति र हाम्रो राज्यमा सकेसम्म चाँडो सामान्य जीवनको पुनस्र्थापना हो’, जेलेन्स्कीले भने ।
वार्तामा प्राथमिकताहरूको रूपमा जेलेन्स्कीले युक्रेनको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र प्रभावकारी सुरक्षा ग्यारेन्टीलगायतका विषय उठाएका छन् । युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड अरखामियाले युक्रेन र रुसबीचको अर्को चरणको वार्ता मार्च २८ देखि ३० सम्म टर्कीमा हुने बताए । युक्रेनी र रुसी प्रतिनिधिमण्डलले फेब्रअरी २८ देखि बेलारुसमा व्यक्तिगत रूपमा तीन चरणको वार्ता गरेका छन् । चौथो चरणको वार्ता भिडियो कन्फरेन्समार्फत मार्च १४ मा शुरु भएको हो । —एजेन्सी