नयाँ दिल्ली । भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितहरूको संख्या २ हजार नाघेकोे छ । केरलामा सबैभन्दा बढी ७२७ केसहरू छन् । सक्रिय सङ्क्रमितहरूको हिसाबले महाराष्ट्र दोस्रो स्थानमा छ। शुक्रबार त्यहाँ ८४ नयाँ केसहरू रिपोर्ट गरिएको थियो । योसँगै कूल सङ्क्रमितको संख्या ६८१ पुगेको छ। देशको ६० प्रतिशत सक्रिय केसहरू यी दुई राज्यहरूमा छन् ।
उता, कर्नाटकको मैसूरमा शुक्रबार एक ६३ वर्षीय पुरुषको मृत्यु भयो। यो राज्यमा कोरोनाका कारण भएको तेस्रो मृत्यु थियो । अब भारतमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
मेघालयमा ७ महिनापछि २ जना नयाँ कोरोना सङ्क्रमित भेटिएका छन् । मिजोरममा २ जनामा सङ्क्रमण पोजेटिभ देखिएको छ। स्वास्थ्य विभागका अधिकारीहरूले राज्यमा पछिल्लो पटक यस्तो केस रिपोर्ट भएको ७ महिनापछि कोभिडका केसहरू फेला परेको बताएका छन् । मिजोरममा कोभिड–१९ को अन्तिम केस अक्टोबर २०२४ मा रिपोर्ट गरिएको थियो ।
भारतका धेरै राज्यहरूमा कोरोना सङ्क्रमण वृद्धि भइरहेको बेला, त्यहाँ चार नयाँ भेरियन्टहरू फेला परेका छन् । दक्षिण र पश्चिम भारतबाट क्रमबद्ध गरिएका भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ शृंखलाका भएको बताए। नयाँ भेरियन्टहरू पत्ता लगाउन अन्य ठाउँहरूबाट नमूनाहरू लिइँदैछ र अनुक्रमण गरिँदैछ ।
यद्यपि चिकित्सकहरू सङ्क्रमितको अवस्था धेरै गम्भीर नरहेकाले मानिसहरूले चिन्ता लिनु नपर्ने तर सतर्क भने रहनु पर्ने बताएका छन् । विश्व स्वास्थ्य संगठनले पनि यसलाई चिन्ताको विषय मानेको छैन। यद्यपि, यसलाई निगरानीमा रहेको भेरियन्टको रूपमा वर्गीकृत गरिएको छ । चीन लगायत अन्य एसियाली देशहरूमा कोभिडको बढ्दो केसहरूमा पनि यी भेरियन्ट देखिँदैछ ।