काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) पोखरा जाने भएका छन्। नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न उनी त्यसतर्फ जान लागेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, एसपी श्यामबाबु ओलियाका अनुसार प्रधानमन्त्री ओली ११ बजे हेलिकप्टरमार्फत त्यहाँ पुग्नेछन् । पोखराको अमरसिंह चौरमा प्रधानमन्त्री महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली पोखरा जाने भएपछि त्यहाँको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
प्रधानमन्त्री ओलीसहित एमाले महासचिव शङ्कर पोखरेल र पृथ्वी सुब्बा गुरुङ लगायतले सम्बोधन गर्ने तय भएको एमाले केन्द्रीय सदस्य तथा युवा संघ नेपालका इन्चार्ज राजीव पहरीले बताए । महाधिवेशनमा देशभरबाट २ हजार प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए ।
यता राष्ट्रिय युवा संघ नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट हुने नेतृत्व चयन प्रक्रिया सकेसम्म सर्वसम्मत बनाउने प्रयास थालिएको छ ।