महाङ्काल गाउँपालिकामा साविकका बुखेल, मानिखेल, गोटीखेल, कालेश्वर, चन्दनपुर र ठूलादुर्लुङ गाविस समेटिएर स्थानीय तह पुनःसंचरनापछि ६ वटा वडामा विभाजन गरिएको छ । ललितपुर दक्षिण भेगमा रहेको भौगोलिक रुपमा विकट रहेको महाङ्काल गाउँपालिकामा २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीसँग सत्य आवाजले गरेको कुराकानीको सारसंक्षेपः
महाङ्काल गाउँपालिका धार्मिक र पर्यटकीय क्षेत्रको उर्बर भूमि हो यहाँका पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्न गाउँपालिकाले के योजना बनाएको छ ?
हाम्रो भूगोललाई प्रकृतिले नै सुन्दर बनाएको छ यहाँको प्राकृतिक क्षेत्रको विकासबाट नै गाउँपालिकाको समृद्धि हुन्छ । पर्यटन प्रबद्र्धन र सडक विस्तारका लागि प्रदेश सरकारबाट सहयोग प्राप्त भइरहेको छ । कालेश्वर, वैतरणीधाम, बुर्जाको डाँडाे, प्राकृति र धार्मिक सम्पदालाई पर्यटक आकर्षणको केन्द्र बनाइने योजना बनाएका छौं । बुर्जाको डाडाँसम्म बाटो सहज रुपमा पुग्ने गरी शशिपा भञ्ज्यांगबाट कालेश्वर डाडाँँ जोड्ने त्यस्तै बैतरणीधामदेखि कालेश्वरसम्म सिम्मा झरना हुँदै कालेश्वर बुर्जाडाँडा लोक्ंतन गुम्बाबाट बिमिरे चौर हुँदै बुर्जाकोडाडाँ पुग्ने रिङरोड पुग्ने सडक निर्माण गर्ने क्रममा छौं यस क्षेत्रमा सडक विस्तार गर्न सकियो भने महाँकाल गाउँपालिकामा पर्यटन प्रबद्र्धन गर्न सहज हुनेछ ।
गाउँपालिकाले सबै वडाका सम्भावित पर्यटकीय क्षेत्रको खोजी गरी पर्यटन प्रवद्र्धन र विकास गर्ने, हरियाली पार्क निर्माण गर्ने कार्य आफ्नै कार्यकालबाट शुरु गर्ने, एक वडा एक उद्यान कार्यक्रम सञ्चालन गर्ने, गाउँपालिका भित्र रहेका सम्भावित पर्यटकीय क्षेत्रमा घरबास होमस्टे सञ्चालन गर्ने योजना गाउँपालिकाले बनाएको छ ।
महाङ्काल गाउँपालिकाको भूगोल हुँदै बग्ने ठोट्ने खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउन सके उपत्यका बासीलाई खानेपानीको अभावबाट मुक्त गर्न सकिन्छ यसको संम्भावना कत्तिको छ ?
ठोट्ने खोलाको पानी काठमाडौं उपत्यकामा थोरै लगानीमा सहजै ल्याउन सकिन्छ । त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन् । मेलम्ची खानेपानी आयोजनमा सरकारले ठूलो लगानी गरेको छ तर अहिलेसम्म पानी जनताको घरको धारामा आउन सकेको छैन तर सरकारले मेलम्चीमा गरेको पाँच प्रतिशत मात्र लगानीमा पनि ठोट्ने खोलाको पानी काठमाडौं उपत्यकामा सहज ल्याउन सकिन्छ । ठोट्ने खोलामा नजिकै ड्याम्प बनाएर करिब ५०० मिटर टनेल निर्माण गरी भारदेउहुँदै उक्त पानी नख्खुखोला मिसाउन सकिन्छ । नख्खु खोला हुँदै उक्त पानी ललितपुर र काठमाडौं महानगरपालिकालाई समेत सहज रुपमा पानी उपलब्ध गराउन सकिन्छ ठोट्ने खोलाको पानी काठमाडौं ल्याउने विषयमा अध्ययन हुनु जरुरी छ ।
महाङ्काल गाउँपालिकामा बनाउने भनिएको स्मार्ट भिलेज कस्तो हो र स्मार्ट भिलेज कुन ठाउँमा बन्दैछ ?
यस गाउँपालिकाको हाम्रो पौरख महाङ्कालको गौरब भन्ने मूल नाराका साथ गाउँपालिकाको दीर्घकालसम्म स्मरणयोग्य कार्य गर्ने लक्ष्य लिइएको छ । यसका लागि सम्भाव्यता अध्ययन, तामाङ्ग समुदायसँगको छलफल र परामर्श तथा केही जग्गाधनीसँगको सरसल्लाहमा च्यानडाँडा कटान गरी स्मार्ट भिलेज (बजार) र मिनी रंगशाला निर्माण गरी बहुवर्षे आयोजना सञ्चालन गर्न आर्थिक वर्ष ०७९।८० मा डी.पि.आर. तयार गरी कार्य प्रारम्भ गर्ने साथै पालिकाको आम्दानी बढोत्तरी गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै विभिन्न साना तथा ठूला उद्योग खोल्न र नदीजन्य उद्योगलाई प्रोत्साहन गर्ने लक्ष्य लिएका छौं ।
महाङ्कालबासीले गर्दै आएका निर्वाहमुखी कृषि पेशालाई तपाई अध्यक्ष पदमा निर्वाचित भएपछि कसरी व्यावसायिकरण गर्ने योजना बनाउनुभएको छ ?
महाँकाल गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने योजनामा छु । निर्बाहमुखी कृषि प्रणालीलाई क्रमिकरुपमा आत्मनिर्भर बनाउने योजना बनाएको छु । बढदो वैदेशिक रोजगारीको परनिर्भरतालाई न्यूनीकरण गर्दै युवालाई कृषि उद्यममा आकर्षित गर्न 'युवाको पौरख– महाङ्कालको गौरव' नामक कृषि व्यवसायिक उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने योजना छ ।
सामूहिक सहकारी खेतीलाई प्रवद्र्धन गर्दै जमीन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने, प्रत्येक वडामा अर्गानिक खेती गर्न कृषकलाई प्रोत्साहन गर्ने कार्यको थालनी गर्ने, कृषि सहकारितालाई प्रोत्साहित गर्दै उत्पादकत्व वृद्धि गर्न सबै खाले सहयोग गर्ने, आधुनिक उन्नत पशु उत्पादनमा जोड दिदै कृषकहरुलाई दुग्ध तथा मासुजन्य उत्पादनमा प्रोत्साहित गर्ने, उन्नत पशुपालन, पशु विमा, नश्ल सुधार, गोठ सुधार जस्ता कार्यक्रमहरुलाई प्रोत्साहित गर्ने, कृषि उपजलाई बजारीकरण गरी उत्पादनको उचित मूल्य प्रदान गर्न कृषि संकलन केन्द्र र चिस्यान केन्द्र स्थापना गरी कृषि क्षेत्रको प्रर्वद्धन गर्ने, कृषि उत्पादन बढाउने उद्धेश्यका साथ 'उत्कृष्ट किसान, हाम्रो शान' नारालाई आत्मसात गर्दै पशुपालन, जडिबुटी, तरकारी, फलफूल खेती गरी कृषि उत्पादनमा उल्लेखनीय योगदान पुर्याउने कृषकलाई पुरस्कृत गर्ने व्यवस्था मिलाउने, कृषि उद्यमशीलताको विकास, खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्घि गर्देै प्रतिस्पर्धात्मक क्षमता वृद्घि गर्ने, पशु बीमा कार्यक्रमलाई प्रोत्साहित गर्ने योजना बनाएका छौं । कृषक पहिचान गरी परिचयपत्र दिने कार्य यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना बनाएको छु ।
गाउँपालिका भौतिक पूर्वाधारमा पछाडि परेको छ भौतिक पूर्वाधारको विकास गर्ने योजना के बनाउनु भएको छ ?
चालु आर्थिक वर्ष २०७९।८० मा गाउँपालिकाको गाउँ यातायात गुरुयोजना निर्माण गर्ने, गाउँ यातायात गुरुयोजना र नेपाल सरकारको नीति अनुरुप गाउँपालिका भित्र रहेका सडकलाई क, ख, ग र घ बर्गमा विभाजन गरी शाखा सडकहरु ६ देखि १४ मिटर र साँघुरा सडक कम्तीमा ४ मिटर चौडा गरिने कार्यको थालनी गर्ने, भौतिक पूर्वाधारहरु निर्माण गर्दा बालबालिका, महिला, अपाङ्ग र वातावरणमैत्री संरचनामा विशेष जोड दिने, सडक क्षेत्रको विकासमा सार्थक जनसहभागिता सहित योजनाहरु संचालन गर्ने, एकीकृत नमूना बस्तीको विकासको सम्भाव्यता अध्ययन गर्ने, पालिकाभित्र सवारी साधन, यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउने योजना बनाएका छौं ।