अञ्जना शिवाकोटी ।
लोकतन्त्र तथा वाम आन्दोलनका अगुवा र नेपाली कम्युनिष्ट आन्दोलनका विशिष्ट सिद्धान्तकार, राजनीतिज्ञ, लेखक जननेता मदन भण्डारी । बहुमुखी प्रतिभाको धनी थिए । पुर्वी पहाडको ताप्लेजुङ जिल्लाको विकट ग्रामीण भेग ढुङेसाँघुमा प्रख्यात पण्डित परिवारमा बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारीको कोखबाट माहिलो छोराको रूपमा विक्रम सम्वत् २००९ साल असार १४ गते भएको थियो ।
मोतिराज भण्डारीको नामले परिचित थिए । उच्च शिक्षा लिने क्रममा बनारस गएपछी मात्रै उनले आफ्नो नाम परिवर्तन गरेका थिए ।
पण्डित तथा खेतीपाती नै मूलपेशा बनाएको परिवारका माइला छोरा मदनले बाल्यकालमा कैंयौ कष्ट र कहरहरूलाई आत्मसात गर्नुभएको थियो । जीवन जिउन कठोर श्रम र सङ्घर्षको खुला कितावलाई यहीँ अध्ययन गर्नुभएको थियो ।
छ भाई छोरा र पाँच बहिनी छोरी सहित दर्जनभन्दा बढी सदस्य रहेको यो परिवार २०२६ सालमा मोरङ्ग जिल्लाको दुलारीमा बसाई सर्यो । करिब चार वर्षपछि यो परिवार फेरी मोरङ्ग कै इटहरामा बसाई सर्यो ।
आफ्नै बुबाले गाउँमा नै सञ्चालन गरेकाे संस्कृत पाठशालामा प्रवेश गरेको केही समयम नै ज्ञानआरम्भ गरेका थिए । भान्जादाई लक्ष्मीप्रसाद पौडेल र पाठशालाका धरणीधर न्यौपाने लगायत गुरूजनलाई अक्षर राम्ररी नचिनेकै यस बेलामा लघुकौमदीका लगायतका कतिपय पाठहरू कण्ठस्थ सुनाएर आश्चर्यचकित बनाउदै प्रखर प्रतिभाको परिचय दिनुभएको थियो ।
११ वर्षको बालक मदनले घरबाट दिनभरिको बाटो हिडेर पुग्न सकिने मेदिबुङस्थित बाल सुवोधनी संस्कृत प्रधान पाठशालामा कक्षा ६ मा दाखिल भई नियमित अध्ययन आरम्भ गरे । मदनले संस्कृतका अतिरिक्त नेपाली, अंग्रेजी, गणित, भूगोल, इतिहास, विज्ञान आदि विषयहरूको पनि गहिरोसँग अध्ययन गर्नुभएको थियो ।
खेलकुदले मानिसको शारीरिक, मानसिक र सामाजिक विकासमा ठूलो प्रभाव पार्छ भन्दै, फुर्सदको समयमा खेलकुदमा रमाउने मदनले कक्षा ९ र १० को दुइवर्षे पढाईलाई ९ महिनामै पुरा गरी २०२४ सालमा नै एस.एल.सी. परिक्षामा उत्कृष्टता सहित उत्तीर्ण गरे ।
घोकन्ते होइन, सिर्जनात्मक अध्ययन क्षमतासहित प्रखर प्रतिभा बनाइसक्नुभएका मदनले उच्चशिक्षा अध्ययनको लागि भारतको बृन्दावनबाट पूर्वमध्यमा र उत्तरमध्यमाको अध्ययन पुरा गरे ।
त्यसपछि सहज वातावरणको खोजिमा उनी देहरादुनतर्फ लागे । झण्डै एकवर्ष देहरादुनमा बिताएपछि उनी बाराणसी तर्फ गए ।
विषयवस्तुको गम्भिर र गहिराइमा पुग्ने गरी अध्ययन पर्ने स्वभावका मदनले अन्ततः यहीबाट बनारस संस्कृत विश्वविद्यालयबाट शास्त्री र आचार्य तहको अध्ययन पुरा गरे । साहित्यिक गतिविधिमा विशेष रूचि राख्ने मदन अध्ययनकालमै खेलकुद, गितसङ्गीत, प्रगतिशील साहित्य, जागरण, राजनीति आदिसँग घनिष्ठता बढाएका थिए ।
बनारसमा रहँदा विशेषगरि भारतका समाजवादी नेता, कम्युनिस्ट नेताहरु ज्योति बासु, तत्कालीन भाकपाका नेता हरिकिंशु सुरजीत र नेपाली नेताहरु पुष्पलाल, मनमोहन अधिकारी, मोहनविक्रम सिंह, नर बहादुर कर्माचार्य, बीपी कोइराला आदिको सम्पर्कले भण्डारीलाई नेपालमा आमूल परिवर्तनको यात्रामा लाग्न उनलाई अभिप्रेरित गर्यो । त्यही कारण भण्डारी राजनीतिक आन्दोलनमा होमिनुमात्र भएन अन्ततः पञ्चायतविरोधी सङ्घर्षका लागि भूमिगत भए ।
उनी नक्सलवादी आन्दोलन, तत्कालीन झापा सशस्त्र विद्रोह हुँदै कमरेड पुष्पलालले खोलेको विद्यार्थी मोर्चाको केन्द्रीय समिति सदस्य बने । कमरेड मोहनचन्द्र अधिकारी, खड्गप्रसाद ओली, सीपी मैनाली, राधाकृष्ण मैनाली, रामनाथ दाहाल लागायत धेरै जना नेताहरु पञ्चायती शासकद्वारा गिरफ्तारीमा परे।
विसं २०२८ फागुन २१ गते जेल सार्ने बहानामा रामनाथ दाहाल, वीरेन्द्र राजवंशी लगायत ५ जनालाई झापा र इलामको सीमामा पर्ने सुखानीमा हत्या गरियो। अरु नेताहरुलाई जेलमा राखेर चरम यातना दिइयो ।
२०३३ सालमा सीपी मैनाली, प्रदीप नेपाल, वीरबहादुर लामा लगायतका नेताहरु नख्खु जेल ब्रेक गरेर बाहिर निस्किए। नेपालको राजनीतिक आन्दोलनको इतिहासमा मोहनचन्द्र अधिकारी १७ वर्ष लामो जेल बसे । देशभरि पञ्चायती दमन बढ्दै गयो। र, कम्युनिस्ट प्रती झुकाव पनि ।
२०३३ को आसपासमा तत्कालीन कोओर्डिनेशन केन्द्र संगठन बिस्तारतिर लाग्यो। सिपि मैनाली संस्थापक महासचिव रहेर २०३५ सालमा नेकपा (माले) गठन भयो । मदन भण्डारी तत्कालीन मालेको राजनीतिमा सक्रिय भए ।
पार्टी भूमिगत थियो, अधिकांश शीर्ष नेताहरु जेलमा नै थिए। त्यस्तो चुनौतिपूर्ण परिस्थितिमा भण्डारीले मालेको संगठनात्मक जिम्मेवारी लिने र आन्दोलनको नेतृत्व गर्ने काम गरे। त्यसपछि भण्डारीले लगातार पञ्चायतविरोधी आन्दोलनमा विभिन्न मोर्चाको नेतृत्व गरिरहे ।
अन्ततः सफल वैचारिक र संगठनात्मक नेतृत्वका कारण उनले कम्युनिष्ट आन्दोलनमा राजनीतिक प्रतिस्पर्धाको नयाँ सिद्धान्त प्रतिपादन गरे।
साहित्यिक रूझान, संलग्नता र सक्रिय सहभागिताकै कारण प्रगतिशील साहित्यमार्फत राजनीतिक जीवन आरम्भ गर्नुभएका मदन भण्डारीले विसं २०३९ साल साउन २४ गते जिल्ला भोजपुर निवासी अखिलको नेता तथा पार्टीको सकृय कार्यकर्ता विद्या पाण्डेसँग वैवाहिक सम्बन्ध गाँसे । पार्टीको नियमित काम तथा, व्यवस्थित अध्ययन, कामप्रतिको तत्परता र लगनशीलतामा कुनै कमी आएन ।
* अन्याय सहन नसक्ने उनको आफ्नै खालको बिद्रोही स्वभाव,
* विषयवस्तुको उच्चतम् ज्ञानको आधार,
* साहित्य र सिर्जना मार्फत नविन चिन्तनको विकासले उनलाई बनारसमा राजनीतिककर्मीहरूसँग नजिकिने वातावरण बनायो ।
समयक्रमसँगै उनी २०२८ पछि सक्रिय विद्यार्थी नेताका रूपमा परिचित भए । प्रगतिशील साहित्य र साहित्यमूलक लेखरचनाको सम्पादन र प्रकाशनले उहाँलाई मोदनाथ प्रश्रितमार्फत नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल समक्ष पुर्यायो । सहोदर दाजु मनोजले समेत सक्रिय सहभागिता बढाउन प्रेरित गरेपछि मदन अग्रज पुष्पलालले नेतृत्व गर्नुभएको साँस्कृतिक मोर्चामा आबद्ध भए । यही नै उनको औपचारिक पहिलो राजनीतिक यात्रा थियो ।
बहुआयमिक प्रतिभा देखिने मदनको यसबेलाको सक्रियतालाई देखेर पार्टीले वि. सं. २०२९ सालमा सदस्यता प्रदान गर्यो । त्यही वर्षको माघमा सम्पन्न क्रान्तिकारी बुद्धिजीवी सम्मेलनमा उनी सहभागी भए । सम्मेलनले कवि युद्धप्रसाद मिश्र अध्यक्ष, मोदनाथ प्रश्रित महासचिव रहनुभएको नेपाली क्रान्तिकारी जनवादी साँस्कृतिक सङ्घको स्थापना गर्यो । मदन केन्द्रीय सदस्य निर्विरोध चुनिए । यसले आफ्नो मुखपत्रको रूपमा मुक्तिमोर्चा प्रकाशन गर्न थाल्यो । यस प्रकाशन समूहमा रहेर मदनले साँस्कृतिक क्षेत्रमा क्रान्तिकारी दर्शन र चिन्तनलाई फैलाउन थाले । यहि बिन्दुबाट नै मदनले विधिवत र व्यवस्थित राजनीतिक जिम्मेवारी सहितको यात्रा आरम्भ गरे ।
मूख्यतः कम्युनिष्ट आन्दोलनलाई शान्तिपूर्ण सङ्घर्षको बाटोमा डोर्याउँदै समाजवाद हुँदै साम्यवाद पुर्याउने मान्यताका साथ अघि सारिएको थियो, जनताको बहुदलीय जनवादको कार्यक्रम। नेकपा (एमाले) को २०४९ मा सम्पन्न पाँचौं महाधिवेशनले मदन भण्डारीको प्रस्तावलाई जनताको बहुदलीय जनवादका रुपमा अनुमोदन गर्यो।
पोखरामा पार्टीको कार्यक्रम सिध्याएर चितवनमा अखिल नेपाल महिला संघको कार्यक्रमको जिल्ला अधिवेशनको सिलसिलामा जादै गर्दा चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जीप दुर्घटनामा परि निधन भयो । एमालेले सो घटनालाई सुनियोजित तथा षड्यन्त्रमूलक रुपमा हत्या गरेको भन्दै आइरहेको छ ।
तत्कालीन पार्टी महासचिव मदन भण्डारी र कुशल संगठक जीवराज आश्रीतलाई आज भन्दा ३२ वर्ष अघि गुमाएको थियौं । मदन भएको भए आज नेपाल यो अवस्थाम नरहन पनि सक्थ्यो । उहाँहरु प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु।
(लेखक अनेरास्ववियु केन्द्रीय कमिटी सचीव हुन ।)